गगन र विश्वप्रकाशलाई लक्षित गर्दै गोकर्णले सोधे- साथीहरु सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा?

बिजमाण्डू
२०८२ बैशाख १२ गते १५:१६ | Apr 25, 2025
गगन र विश्वप्रकाशलाई लक्षित गर्दै गोकर्णले सोधे- साथीहरु सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा?
गोकर्ण विष्ट


काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले नेपाली कांग्रेसका कतिपय नेताहरुबाट भइरहेको विरोधप्रति सार्वजनिकरुपमै असन्तुष्टि जनाएको छ।

Tata
GBIME
NLIC

कांग्रेसका कतिपय नेताहरुले सरकारको आलोचना गरेको विषयमा एमालेले संसद् बैठकमार्फत नै असन्तुष्टि जनाएको हो। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा एमाले सचिव गोकर्ण विष्टले सरकारको आलोचना गर्ने कांग्रेसका नेताहरुलाई लक्षित गर्दै अभिव्यक्ति दिए।

उनले सरकारमा रहेका दलका नेतालाई सरकारप्रति असन्तुष्टि व्यक्त नगर्न र कुनै कुरा चित्त नबुझेको भए आपसमा छलफल गरेर समाधान खोज्न आग्रह गरे।

‘कहिलेकाहीं त यस्तो लाग्ने गर्छ सत्तामा रहेका साथीहरु पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा? कहिलेकाहिं चिन्न पनि गाह्रो हुने अवस्था पैदा भएको छ,’ उनले सरकारको आलोचना गर्दै आएका कांग्रेस नेताहरुलाई लक्षित गर्दै भने, ‘यो प्रकारको अवस्थाबाट माथि उठौं। गठबन्धन सरकारको संस्कृतिलाई अगाडि बढाउन मर्यादित हिसाबले अघि बढौं। कहिं कतै समस्या पैदा भइरहेका छन् भने राजनीतिक संयन्त्र छन्। असहमति र सुधार गर्ने आन्तरिक पद्धति छन्। त्यहीं नै समाधान खोजौं। त्यहीं समीक्षा गरौं। तर, सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने र निराशा पैदा गर्ने काम कसैले पनि नगरौं।’

सरकारको कामलाई लिएर कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चर्को असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरुले दुई ठूला दल मिलेर सरकार बनेको अनुभूति हुने गरी काम नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। थापाले त बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको अभिव्यक्ति सार्वजनिकरुपमा नै दिएका छन्।

कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले त सरकारको आलोचकको पहिचान नै बनाएका छन्। कांग्रेस नेताहरुले सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गर्ने क्रम बढेपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार अब धेरै नटिक्ने बताउन थालेका छन्।

एमाले नेता विष्टले अहिलेको सरकार अजम्बरी नभएको बताए।

‘सरकार रहने र जाने महत्वपूर्ण होइन। यो सरकार अजम्बरी होइन। एक दिन जान्छ नै। १४/१५ महिनापछि हस्तान्तरण हुन्छ नै। सरकार कति महिना रहन्छ एक घण्टा रहन्छ यो महत्वपूर्ण होइन। जनता र राष्ट्रको हितमा परिणाम दिने गरी काम गर्नुपर्छ,’ उनले भने।