
काठमाडौं। नेपाली कांग्रेसले सरकारको कामको गतिप्रति असन्तुष्टि जनाएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दुई ठूला दल मिलेर सरकार बनेको ९ महिना नाघेपनि जनताले त्यसको अनुभव गर्न नसकेको भन्दै मूलभूत काममा केन्द्रित हुन सुझाव दिए।
‘सरकार बनेको ९ महिनामा उल्कै गजबै गर्यो भन्ने ठाउँ छैन। मुलुकलाई बदनाम गर्ने काम गरेको देखिंदैन। तर सरकारले आफ्नो गति बढाउनै पर्छ। सुशासनको मामिलामा सरकार आक्रामक ढंगले अघि बढ्नुपर्छ,’ उनले भने, ‘नेपाली जनताले कांग्रेस र एमाले जस्ता ठूला पार्टीको बलियो र शक्तिशाली सरकार हो भन्ने व्यवहारमा महसुस गर्न पाउनुपर्छ।’
कांग्रेस नेता घिमिरेले सानातिना कुरामा समय खेर फाल्न नहुने बताए। ‘सरकारले सानातिना कुरामा नअल्झी मूलभूत काममा ध्यान दिनुपर्छ। खनाल आयोगको प्रतिवेदन कार्यान्वयन गरे अर्थतन्त्रमा सुधार हुन्छ,’ उनले भने।

उनले राजस्वमा ठूलो वृद्धि गर्न सक्ने अवस्था नरहेको भन्दै सरकारलाई चालु खर्च नियन्त्रण गर्न सुझाव दिए। ‘कमजोर जीडीपीका कारण राजस्वमा ठूलो वृद्धि तत्काल सम्भव छैन। त्यसैले चालु खर्च नियन्त्रण गरी निजी क्षेत्रसँग मिलेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ,’ उनले भने।
घिमिरेले अहिलेको चुनाव प्रणालीबाट कुनै एक दलको बहुमत आउन नसक्ने भन्दै गठबन्धन संस्कृतिको आवश्यकता औंल्याए।
‘एक पार्टीको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको संस्कृति निर्माण गर्नैपर्छ। गठबन्धनबाट स्थिरता दिनु, प्रगति गर्नु नेपाली राजनीतिको आजको आवश्यकता हो,’ उनले भने।