
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैशाख ३० देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
हकप्रद सेयर निष्कासन गर्न इन्स्योरेन्सले बुक क्लोज गरिसकेकाले बैशाख ४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।
कम्पनीको हकप्रद सेयर जेठ १९ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीको अहिले ३ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। हकप्रद सेयर निष्कासनपछि ५ अर्ब ३ करोड पुग्नेछ।
नेपाल बीमा प्राधिकरणले २०७८ मा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेकामा कम्पनीले हकप्रद सेयरबाट कायम गर्न लागेको हो।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औसतस्तरको रहेको जनाउँछ।
इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।