सांघाइ। आन्तरिक बजारमा कडा प्रतिष्पर्धा गरिरहेका चिनियाँ सवारी निर्माता कम्पनीहरुले विश्व बजारमा आफ्नो उपस्थिति दिनदिनै दरिलो बनाइरहेका छन्। गाडीका मोडल र इन्टेरियरमा भइरहेको तीव्रत्तर विकाससँगै विश्व बजारमा चिनियाँ अटोमेकरहरूले ठूलो परिवर्तन ल्याइरहेका छन्।
अटोमेकरहरूले आकर्षक डिजाइन र नवीनतम उच्च-प्रविधियुक्त विकास गरेका छन्। गाडीका डिजाइनमा भित्री भागहरू ग्राहकलाई लोभ्याउने मात्रै बनाएका छैनन्, अपेक्षाकृत किफायती विद्युतीय मोडलहरु बजारमा ल्याइरहेका छन्।
बीवाइडी, ग्रेट वाल, जीली र चेरी अटोमोबाइल जस्ता कम्पनीहरू आफ्ना घरेलु बजारमा कडा प्रतिस्पर्धामा टिक्न आवश्यक पर्ने क्षमता विस्तारसँगै बाहिरको बजारमा पुगिरहेका छन्। यी सामान्यतया एसएआइसी, बीएआइसी र ग्वांझाउ अटोमोटिभ जस्ता राज्य-संचालित दिग्गजहरू भने होइनन्। जीलीका संस्थापकले रेफ्रिजरेटर बनाउन सुरु गरेका थिए।
बीवाइडीले पहिले ब्याट्री प्रविधिमा आफ्नो विशेषज्ञता बनायो। अब विश्वको सबैभन्दा धेरै बिक्री हुने इभी निर्माताका रूपमा ठूलो फाइदा लिन सकेको छ। केही अन्य प्रविधि कम्पनीहरू हुन् जसले स्वचालित ड्राइभिङ प्रस्ताव गर्न अटोमेकरहरूसँग गठबन्धन गरेका छन्।
यी हुन् प्रमुख केही खेलाडी

ग्रेट वाल मोटर्स
ग्रेट वाल मोटर्सका हावल, वे, ओरा, पोअर र ट्याङ्क ब्रान्डहरू छन्। कम्पनीले गत वर्ष चीनभित्र बिक्री लगभग १५ प्रतिशतले घटेको देखेको हो। विश्व बजार कारोबारमा अघि बढ्दै जाँदा उसका लागि अहिले चीन बाहिरको बजारको ठूलो भर छ।
कम्पनीको खुद नाफा ८० प्रतिशतभन्दा बढीले बढेको छ। कम्पनीको रूस, थाइल्याण्ड र ब्राजिलमा कारखानाहरू छन्, जहाँ यसले टोयोटाको लोकप्रिय हाइलक्स पिकअप ट्रकलाई यसको आफ्नै हाइब्रिड पिकअप जीडब्लुएम पोअरको साथ चुनौती दिइरहेको छ। अर्को मुख्य आधार हाइब्रिड स्पोर्ट्स एसयुभी हावल एच सिक्स हो।
ग्रेट वालले अन्य अटोमेकरहरूको कारखानाहरू खरिद गरेर विदेशी उत्पादनमा आफ्नो विस्तार सहज बनाएको छ। थाइल्याण्डमा यसले पहिले जनरल मोटर्स कर्पद्वारा सञ्चालित कारखाना लिएको छ। ब्राजिलमा मर्सिडीज-बेन्जको प्लान्ट खरिद गरेको छ।
‘भोल्युम ठूलो हुनु आवश्यक छ, अन्यथा उत्पादन लागत धेरै उच्च छ,’ ग्रेट वालका अध्यक्ष वेई जियानजुनले सांघाइमा जारी अटो शोका क्रममा सञ्चारमाध्यमहरुसँग भने।
ज्याक वेईको नामले पनि चिनिने वेई बेइजिङमा जन्मेका थिए तर नजिकैको हेबेईमा सरेका थिए, जुन ग्रेट वालको घर हो। उनले कम्पनीको सवारीसाधन परिमार्जनबाट अटोमेकिङमा संक्रमणको नेतृत्व गरे, चीनको सबैभन्दा ठूलो पिकअप ट्रक निर्माता र एक अग्रणी एसयुभी निर्माता बने। कम्पनीको बीएमडब्लुसँग इभी उत्पादनका लागि ज्वाइन्ट भेञ्चर छ।

चेरी
सरकारी स्वामित्वमा रहेको चेरी अटोमोबाइलले आफूलाई विदेशमा गाडी निर्यात गर्ने पहिलो चिनियाँ अटोमेकर भएको बताउने गरेको छ। यसले आफ्ना चेरी, एक्सिड, ओमोडा र जेटोर मोडेलहरू विदेशमा बेचेको छ, प्रायः विकासशील विश्व, टर्की र युक्रेन लगायत उदीयमान बजारहरूमा।
चेरीले गत वर्ष विदेशमा २६ लाख सवारीसाधन बेचेको रिपोर्ट सार्वजनिक गरेको थियो। २०२५ मा ३० लाखसम्म पुर्याउने लक्ष्य राखेको छ। यसले रूस र स्पेनमा कारखानाहरू स्थापना गर्दै विदेशमा उत्पादन द्रुत गतिमा विस्तार गरिरहेको छ। यो ल्याटिन अमेरिकामा द्रुत गतिमा विस्तार भइरहेको छ।
चेरीको इभी-निर्माता भिजनरी भेहिकलसँगको साझेदारीले उत्तर अमेरिकामा बिक्री गर्ने लक्ष्य राखेको थियो तर अहिलेसम्म त्यो लक्ष्य हासिल भएको छैन। कम्पनीको जगुआर ल्याण्ड रोभरसँग ५०-५० को संयुक्त उद्यम छ, जुन भारतको टाटा मोटर्सको सहायक कम्पनी हो, जसले चीनमा जगुआर र ल्याण्ड रोभर बनाउँछ। यसले हुवावे टेक्नोलोजी र इ-कमर्स जायन्ट अलिबाबासँग पनि सहकार्य गरेको छ।
चेरीले अझै पनि इभी भन्दा धेरै इन्धन इन्जिन भएका कारहरू बेच्छ। यसको ब्याट्री इलेक्ट्रिक भेहिकल कम्पनीले चेरी न्यु इनर्जीले इक्यु वन, वा सानो एन्ट, र क्युक्यु आइसक्रिम जस्ता साना सवारीसाधनहरू बनाउँछ। यसको कारोबारका मुख्य आधार एसयुभीहरूको टिगो लाइनअप र यसको एरिजो सेडानहरू हुन्।

बीवाइडी
गत वर्ष बीवाइडीले टेस्ला भन्दा धेरै इभी बनायो। चीनमा ३५ लाख २० हजार गाडीहरु बेच्यो, जुन एक वर्ष अघिको तुलनामा २८ प्रतिशतले बढी हो। प्लग-इन हाइब्रिडहरूमा यसको बलियोपनले चिनियाँहरूले इन्धन इन्जिनको फलब्याक रोज्न थालेपछि मद्दत गरेको छ।
दक्षिणी चीनको शेन्जेनमा आधारित कम्पनीले हालै एक अल्ट्रा-फास्ट इभी चार्जिङ प्रणालीको घोषणा गरेको छ, जसले यसको पछिल्लो इभीहरूलाई पाँच देखि आठ मिनेटमा पूर्ण चार्ज प्रदान गर्न सक्छ, जुन लगभग एक फिल-अप बराबर हो। यसले चीनभरि ४ हजार भन्दा बढी नयाँ चार्जिङ स्टेसनहरू निर्माण गर्ने योजना बनाएको छ।
यो चिनियाँ कम्पनीले ब्याट्री बनाउन सुरु गरेको थियो। अहिले चीन बाहिर विस्तारित अटो साम्राज्य निर्माण गर्दै आफ्नो ब्याट्री र ऊर्जा भण्डारण प्रविधिलाई परिष्कृत गर्दै आएको छ।
बीवाइडीको सबैभन्दा आकर्षक, नवीनतम प्रिमियम मोडेलहरू लगभग ४० हजार डलरसम्ममा बिक्री हुने अपेक्षा गरिएको छ। तर यसले चीनमा लगभग १२ हजार डलरमा बिक्री हुने सीगलसहित धेरै सस्तो इभीहरू पनि बनाउँछ।
२०२४ मा ब्याट्रीबाट चल्ने इभीको उत्पादनमा बीवाइडीले टेस्लाको मुस्किल बढायो। टेस्लाको १,७७३,४४३ को तुलनामा बीवाइडीले १,७७७,९६५ वटा गाडी बनाएको थियो।

जीली
जीली अटो सायद सबैभन्दा प्रसिद्ध चिनियाँ अटोमेकर हो, जसको बारेमा विश्वका धेरै मुलुकका मानिसहरूले कहिल्यै सुनेका छैनन्। निजी स्वामित्वमा रहेको यो कम्पनी सन् १९९७ मा पूर्वी चीनको ताइझोउमा व्यापारी ली शुफुले रेफ्रिजरेटर निर्माताको रूपमा स्थापना गरेका थिए, जुन सुरुमा निजी उद्योगको केन्द्र बन्यो।
लीले सुरुमै रणनीतिक विदेशी अधिग्रहणहरू गर्न थाले, २०१० मा फोर्ड मोटरबाट स्वीडेनको भोल्भो कार कम्पनी किनेर। मलेसियाको प्रोटोनमा जीलीको ४९.९ प्रतिशत हिस्सेदारी खरिदले यसलाई लक्जरी स्पोर्ट्स कार ब्रान्ड लोटसमा ५१ प्रतिशत हिस्सेदारी दियो। यसले जर्मनीको डेमलर एजीसँग स्मार्ट सिटी कारहरू बनाउन ५०-५० को संयुक्त उद्यम गठन गर्यो। यसले पावरट्रेनहरूमा फ्रान्सको रेनो एसएसँग पनि काम गर्छ र एस्टन मार्टिन लागोन्डामा पनि हिस्सेदारी राख्छ।
मार्चमा यसले अष्ट्रेलिया र न्यूजील्याण्डमा आफ्नो जीली इएक्स फाइभ एसयुभीको बिक्री सुरु गर्यो, जसले गर्दा यसको विश्वव्यापी पहुँचमा वृद्धि भयो।
जीलीसँग न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध जीकर इन्टेलिजेन्ट टेक्नोलोजी होल्डिङको पनि स्वामित्व छ, जसले प्रिमियम इभी ब्रान्ड बनाउँछ। जीली र भोल्भोले स्विडेनी अटोमेकर पोलेस्टारको स्वामित्व राख्छन्, जुन अमेरिकी बजारमा संघर्ष गरिरहेको छ।

वुलिङ
चीनको दोस्रो सबैभन्दा धेरै बिक्री हुने इभी ब्रान्ड वुलिङ हो, जुन सांघाईको एसएआइसी मोटर, जनरल मोटर्स र ग्वाङ्जी अटोको ज्वाइन्ट भेञ्चर हो। यसले चीनमा ६ लाख ७३ हजारभन्दा बढी इभीहरू बेचेको छ र बीवाइडीको लगभग एक तिहाइ हिस्साको तुलनामा यसको बजार हिस्सा केवल ६ प्रतिशत छ। टेस्ला ६५९,००० कारहरू बिक्री गरेर तेस्रो स्थानमा रह्यो।
बाओजुन सेडान र भ्यान बाहेक वुलिङले मुख्यतया इन्जिन, व्यावसायिक सवारीसाधन र मिनी-इभी र गल्फ कार्ट जस्ता विशेष उद्देश्यका सवारीसाधनहरू बनाउँछ।
र, अन्य
अन्य प्रमुख चिनियाँ ब्रान्डका इभीहरूमा नियो, एक्सपेङ, ली अटो र लीप मोटर समावेश छन्। निसान मोटर कर्पोरेसनसँग गठबन्धन भएको डोङफेङ मोटर ग्रुप र जापानको माज्दा मोटर कर्पोरेसन र फोर्ड मोटर कम्पनीसँगको साझेदार चांगन अटोमोबाइल जस्ता सरकारी कम्पनीहरूले पनि इभी बिक्री द्रुत गतिमा विस्तार गरिरहेका छन्।
उद्योगहरु द्रुत गतिमा परिवर्तन भइरहेको छ र घरेलु बजारमा प्रतिस्पर्धा कठिन छ। यही कारणले गर्दा ठूला अटोमेकरहरूले विश्वव्यापी बजारमा विस्तारमा ध्यान केन्द्रित गरेका छन्। (एपी)