निर्यातमा सहयोग पुग्ने निर्णय भए पनि भारतमा नेपाली अदुवाको मागमा गिरावट, उत्पादन घट्दो

बिजमाण्डू
२०८२ बैशाख ११ गते १३:४८ | Apr 24, 2025
निर्यातमा सहयोग पुग्ने निर्णय भए पनि भारतमा नेपाली अदुवाको मागमा गिरावट, उत्पादन घट्दो


काठमाडौं। भारतले नेपालको प्रयोगशाला परीक्षणलाई मान्यता दिने निर्णय गरे पनि देशभित्र अदुवाको उत्पादन भने घट्दो क्रममा रहेको देखिएको छ।

Tata
GBIME
NLIC

५ वर्ष पहिले वार्षिक ४ लाख मेट्रिक टन अदुवा उत्पादन हुने गरेकामा अहिले १ लाख मेट्रिक टनमा झरेको छ।

अदुवा व्यवासायी महासंघका अध्यक्ष नरेन्द्र खड्काले पछिल्ला वर्ष उत्पादन लगातार घटिरहेको बताए। ‘पहाडी क्षेत्रमा अदुवा उत्पादन गर्ने किसानहरु विस्थापित हुने क्रम बढेकाले त्यसको असर परिरहेको छ। अदुवाको उत्पादन घट्नुका साथै गुणस्तर पनि खस्किरहेको छ।’

भारतले गत महिना नेपालमा हुने प्रयोगशाला परीक्षणलाई मान्यता दिने निर्णय गरेपछि अदुवाको निर्यात बढ्ने विश्वास गरिएको थियो।

तर, अहिले भारतमै अदुवा उत्पादन हुन थालेकाले नेपाली अदुवाको माग घटेको खड्काले बताए। ‘केही वर्षअघिसम्म नेपाली अदुवाको भारतमा ठूलो माग थियो। तर अहिले भारतमै उत्पादन हुन थालेकाले माग घटेको छ। नेपालमा भन्दा उता मूल्य सस्तो छ,’ उनले भने।

चालु आर्थिक वर्ष ९ महिनामा ५१ करोड १२ लाख रुपैयाँको अदुवा निर्यात भएको छ। सिजनमा किसानले प्रति केजी ३० देखि ३५ रुपैयाँमा अदुवा बेच्ने गरेका छन्। यो भाउ तलमाथि हुन्छ। अहिले बजारमा अदुवा, अदुवाको धुलो, पेष्ट र अचार भारतबाट आउने गरेको छ।