एनएसएलमा कार्लोस आए दर्शक आएनन्, धनगढीका कप्तान देवेन्द्र तामाङले देखेका दुई मुख्य कारण!

बिजमाण्डू
२०८२ बैशाख ११ गते १२:१० | Apr 24, 2025
एनएसएलमा कार्लोस आए दर्शक आएनन्, धनगढीका कप्तान देवेन्द्र तामाङले देखेका दुई मुख्य कारण!


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा अब फाइनल खेल बाँकी छ। लिगको उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्स भिड्नेछन्। यो खेल शनिबार हुनेछ।

Tata
GBIME
NLIC

फाइनल खेलसम्म आइपुग्दा एनएसएलले दर्शक भने तान्न सकेको छैन। आयोजकले दर्शक तान्न गरेको सबैभन्दा ठूलो प्रयास हो : विश्वकप विजेता लेजेन्ड रोबर्टो कार्लोसलाई नेपाल ल्याउने।

निर्धारित मितिभन्दा पछि सरेर मंगलबार कार्लोस नेपाल आइपुगे। विश्वकै महानतम् सेन्टर ब्याकमध्येमा पर्ने कार्लोस बुधबारको क्वालफायर दुईको खेल हेर्न दशरथ रंगशाला पनि पुगे।

यस संस्करणको एनएसएलको एउटा नराम्रो विशेषता छ : दर्शक बिनाको खेल। अघिल्लो संस्करणमा लिग चरणमा यस्तै प्याट्रन देखिए पनि प्लेअफबाट दर्शक उल्लेख्य रुपमा रंगशाला पुगेका थिए।

यसपटक लिग चरण तथा पहिलो क्वालिफायर र इलिमिनेटरका खेलमा रंगशाला भरिने गरि दर्शक त गएनन् नै कार्लोस स्टेडियम पुगेको दोस्रो क्वालिफायरको खेलमा पनि रंगशाला आधा पनि भरिएन।

फाइनल पुगेको पोखरा थण्डर्सका प्रशिक्षक सुमन श्रेष्ठलाई किन दर्शक रंगशाला आएनन् भन्ने प्रश्न गर्दा सोझो जवाफ दिए : टिकट शुल्क धेरै महँगो जस्तो लाग्यो। त्यसबाहेक भने उनले टिप्पणी गर्न चाहेनन्।

लिग चरणमै एफसी चितवनका प्रशिक्षक नवीन न्यौपानेले रंगशालामा दर्शक तान्न आयोजकको मार्केटिङ नपुगेको प्रतिकृया दिएका थिए।

पहिलो क्वालिफायरमा टिकट शुल्क साधारणतर्फ ४०० र भीआईपीतर्फ १ हजार ५०० रुपैयाँ तोकिएको थियो। फाइनलका लागि टिकट खुलेको छैन।

बुधबार दोस्रो क्वालिफायरमा पोखरासँग पराजित हुँदै बाहिरिएको धनगढी एफसीका कप्तान देवेन्द्र तामाङ दुई मुख्य कारणले दर्शक नतानिएको देख्छन्।

मार्केटिङमा चुक!

रंगशालामा दर्शक तान्न मार्केटिङमा कमजोरी भएको देख्छन् धनगढीका कप्तान तामाङ। यसलाई उनी फागुन महिनामा सम्पन्न केपी ओली कपसँग तुलना गरेर हेर्छन्।

दुई महिना अघिमात्र काठमाडौंमा केपी ओली कप भएको थियो। त्यसबेला पनि फुटबल लेजेन्डलाई आयोजकले नेपाल ल्याएको थियो। त्यसबेला नेपाल आउने फुटबल लेजेन्ड थिए : इटलीका जियालुजी बुफोन।

त्यसबेला आयोजक युवा संघले रंगशालामा दर्शक तान्न सफल भएको थियो। त्यस्तै, मंसिर महिनामा भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि ब्रायन लारालाई ल्याएर नेपाल क्रिकेट संघले माहोल बनाउन सकेको थियो। तर, एनएसएलाई कार्लोस आउँदा पनि माहोल भने बन्न सकेको छैन।

देवेन्द्र तामाङ (पहेँलो जर्सीमा) र समिर तामाङ । तस्विर : एनएसएल

‘केपी ओली कप भएको थियो। त्यसमा पनि लेजेन्ड ल्याएको थियो। यसमा पनि ल्याएको छ,’ उनले भने, ‘यसमा चाहीँ आयोजक चुके जस्तो लाग्छ। यसमा एन्फा पनि चुकेको छ। दुईवटाले राम्रोसँग प्रोमोट गर्न सकेको भए अर्कै हुने थियो।’

लिग नभएर क्रेज हरायो

तामाङले देखेको दर्शक नआउनुको अर्कोका कारण हो : छरप्रष्ट लिगहरु।

‘लिगहरुको सेड्युल नै छैन। ए डिभिजन लिग भएकै छैन। कुन लिग कहिले कसरी हुन्छ भन्ने मान्छेलाई थाहै छैन,’ उनी भन्छन्, ‘वर्षमा एकपटक एनएसएल हुन्छ। त्यो पनि हुन्छ हुँदैन नै टुंगो हुँदैन।’

लिग नहुने र व्यवस्थित क्यालेन्डर नहुँदा फ्यानबेस नबन्ने संकेत गर्दै तामाङले भने : यस्तो अवस्थामा मान्छे कसरी आउने? कसलाई सपोर्ट गर्ने?