सरकारले २५ अर्ब चुक्ता पुँजीसहित वैकल्पिक वित्त कोष स्थापना गर्ने, विधेयक संसद् सचिवालयमा

बिजमाण्डू
२०८२ बैशाख ९ गते १४:५७ | Apr 22, 2025
सरकारले २५ अर्ब चुक्ता पुँजीसहित वैकल्पिक वित्त कोष स्थापना गर्ने, विधेयक संसद् सचिवालयमा


काठमाडौं। पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब अधिकृत पुँजी र २५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहने गरी सरकारले वैकल्पिक विकास वित्त कोष स्थापना गर्ने भएको छ।

Tata
GBIME
NLIC

आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार विकास गर्न कोष स्थापना गरिने भएको हो। यसका लागि सरकारले संसद् सचिवालयमा विधेयक दर्ता गराएको छ।

कोषमा सरकारको ५१ प्रतिशत सेयर रहने प्रस्ताव गरिएको छ।

स्वदेशी तथा वैदेशिक लगानीलगायत वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विषय समेट्न वैकल्पिक विकास वित्तसम्बन्धी कानुन आवश्यक रहेकाले विधेयक दर्ता गराएको अर्थ मन्त्रालयले जनाएको छ।

‘वैकल्पिक विकास वित्तका स्रोतहरूको माध्यमबाट रोजगारी प्रवर्धन, दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वर्तमान वित्तीय स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाउन कानुन आवश्यक छ,’ विधेयकमा भनिएको छ।

कोषमार्फत सूचना प्रविधि पार्क, पर्यटन, खेलकुद, शहरी र डिजिटल पूर्वाधार तथा केबलकार निर्माण र सञ्चालनका लागि लगानी गर्न सकिने विधेयकमा उल्लेख छ।