
काठमाडौं। सरकारले घरबारबिहीन भएका काभ्रेका विभिन्न गाउँका बाढीपहिरो पीडितलाई सात महिनापछि बल्ल अस्थायी आवास बनाउनका लागि सहयोग गर्न थालेको छ।
गत असोज दोस्रो साताको बाढीपहिरोले घर खेत गुमाएकाहरुलाई सरकारले अस्थायी आवास निर्माण गर्नका लागि बल्ल २५ हजार रुपैयाँका दरले अनुदान दिन थालेको हो। यो पहिलो किस्ताको रकम हो। दोस्रो किस्तामा पनि २५ हजार रुपैयाँ वितरण गर्ने भनिएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पैसा आएकाले बाढीपहिरो प्रभावित परिवारलाई वितरण गर्न सुरु गरेको जानकारी दिए।
‘हामीलाई प्राधिकरणमार्फत रकम प्राप्त भएको छ। आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौं,’ उनले भने।
सरकारी तथ्यांक अनुसार असोजको बाढीले विभिन्न १० स्थानीय तहका २ हजार ८९५ परिवारले आवास गुमाएका थिए।
तीन तहका सरकारको व्यवस्था हुँदा पनि अस्थायी आवास निर्माणका लागि अनुदान वितरण सुरु गर्न सात महिना लगाइनुलाई बाढीपहिरो प्रभावितप्रतिको संवेदनहीनताका रुपमा लिइएको छ।