
त्रिवेणी (नवलपरासी)। एक जना जनप्रतिनिधिले व्यावसायिक कृषिमा लागिपरेर नमुना बनेका छन्। ती हुन् नवलपुरको कावासोती-१७ का वडासदस्य मीनबहादुर महतो। उनले फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।
उनका खेतमा यति बेला मेवा पाकेर पहेँलपुर छ। टिपेर बजार पठाउने धमाधम चलिरहेको। तीन बिघामा मेवाखेती गरेका उनले अहिले ६० टन मेवा बिक्री गरिसकेका छन्। मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उनले बताए।
मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ। फलेका मेवा बिक्री मुख्यगरी वीरगंजमा हुने गरेको छ, त्यसपछि उनले काठमाडौंका व्यापारिलाई पनि बेच्ने गरेका छन्। व्यापारीले माग गरेअनुसार पठाउँदै आएको उनले बताए।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका उनले असोजबाट बिक्री सुरु गरेका हुन्। असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन्। ‘मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन। अझ धरानबाट पनि माग थियो, तर त्यता पठाइनँ वीरगंजमै खपत भएको छ,’ उनले भने।
मेवा प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। मेवाखेतीमा करिब १३ लाख खर्च भएकोमा यो याममा हालसम्म करिब पाँच लाख रुपैयाँ फाइदा लिइसकेको उनले जानकारी दिए। अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए।
उक्त समयसम्म करिब २०–२१ लाख रुपैयाँको मेवा बिक्री हुने अनुमान छ। मेवाखेतीबाट उनी आफूले मात्रै आम्दानी लिएका छैनन्, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला दिनेगरि रोजगारी दिएका छन्। मेवाको बिरुवा लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब ९ लाख रुपैयाँ ज्यालाबापत बुझेको उनको भनाइ छ।
खर्च कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बिउमा छ। सुरुमा लगानी गर्दा ६ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ। अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोले बताए।
हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी सुनाउँछन्। उनले लगाएका मेवा रेडलेडी प्रजातिका हुन्।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए। मेवाअघि उनले उक्त जग्गामा खरबुजा खेती गरेका थिए। खरबुजाबाट समेत राम्रो आम्दानी भएको उनले बताए। कावासोती-१७ का वडा सदस्यसमेत रहेका उनी कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन्।
रोजगारीका लागि सिंगापुर र साउदी अरबमा सात वर्ष बिताएका महतो मेहनत गरे गाउँघरमै राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेका छन्। ‘मलाई काम गर्न अप्ठ्यारो लाग्दैन। विदेशमा पनि लामो समय बसेँ, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ। मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो,’ उनले भने। रासस