शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा, आन्दोलनरत शिक्षकसँग अब कसले गर्छ ‘डिल’ ?

बिजमाण्डू
२०८२ बैशाख ८ गते १८:१६ | Apr 21, 2025
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा, आन्दोलनरत शिक्षकसँग अब कसले गर्छ ‘डिल’ ?


काठमाडौं। देशभरका सामुदायिक विद्यालयका शिक्षकले काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।

Tata
GBIME
NLIC

मन्त्री भट्टराईले माग सम्बोधन गरेर शिक्षकहरुलाई विद्यालय फर्काउन नसकेपछि सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन्। ओलीको सचिवालयका सदस्यले भट्टराईले राजीनामा दिएको पुष्टि गरेका छन्।

शिक्षकहरुले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, आफूहरुलाई स्थानीय तहको साटो केन्द्र सरकार मातहत राख्नुपर्ने लगायत माग राखेर चैत २० देखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्।

शिक्षकहरुको माग सम्बोधनको प्रयास गरिरहेकी भट्टराईले अकस्मात राजीनामा दिनुलाई अर्थपूर्ण मानिएको छ। स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति असन्तुष्ट थिइन्।

निजी विद्यालयहरुको प्रशंसा गरेका ओलीले सार्वजनिक मञ्चबाटै सार्वजनिक विद्यालयका शिक्षकलाई होच्याउने खालको अभिव्यक्ति दिंदा त्यसले वातावरण बिग्रिएको भट्टराईको बुझाइ थियो।

‘देशभरका शिक्षक काठमाडौंमा जम्मा भएको विषयलाई प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक लिनु भएन। शिक्षकहरुलाई काठमाडौं किन आएको भनेर गाली गर्नेदेखि विद्यार्थीलाई पास गराउन नसकेको भनेर हेप्ने शैलीमा अभिव्यक्ति दिनुभयो। उहाँले मन्त्रीज्यूलाई समेत बेवास्ता गर्नुभयो। त्यही कारण मन्त्रीज्यूले राजीनामा दिनुभएको हो,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो।

शिक्षकहरुले प्रधानमन्त्री ओलीमाथि उखान टुक्काले हुँदैन भनेर गीतमार्फत व्यंग गर्दै आएका छन्। ओलीले केही दिनअघि आन्दोलनरत शिक्षकहरुलाई बोलाएर बालुवाटारमा छलफल गर्दा विभागीयमन्त्री भट्टराईलाई राखेका थिएनन्।