
काठमाडौं । विभिन्न माग राख्दै शिक्षकहरुको प्रदर्शन आज पनि जारी छ। बिहान ९ बजेदेखि नै माइतीघरमा भेला भएका शिक्षकहरुका कारण बानेश्वरसम्मको सडकखण्ड अवरुद्ध बनेको छ।
माइतीघर-बानेश्वर सडक ठप्प हुँदा त्यसको असर करिडोर र आसपासको सडकमा परेको छ। शिक्षकहरु नाच्दै गाउँदै प्रदर्शनमा ओर्लिएका छन्। करिब ३ सातादेखि उनीहरु मुख्य सडक नै बन्द गरेर प्रदर्शन गरिरहेका छन्। अस्पताल नजिकै रहेको क्षेत्रमा भएको प्रदर्शनले बिरामीहरुलाई सास्ती भइरहेको छ। दैनिक काममा जानुपर्ने मानिसहरु पनि प्रदर्शनका कारण आजित भइसकेका छन्।
अहिले मुख्य सडक धेरै दिन बन्द गरेर प्रदर्शन गर्न दिन नहुने भन्दै आवाज पनि उठिरहेको छ। शिक्षकहरुलाई अन्य ठाउँको विकल्प दिनुपर्ने माग उठ्न थालेको छ।
ट्राफिक प्रहरीका अनुसार हाल माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्म चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्ट गरिएको छ।
सवारी साधनलाई तिनकुने, रणोद्धिप, कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको छ। डाइभर्सनका कारण पुरानोबानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणगेट, माइतीघर, अनामनगर, हनुमानस्थान र थापागाउँ हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन्।
पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौं उपत्यका स्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चावहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्धिप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन पनि क्युमै चलिरहेका छन्।
नक्साल स्थित भाटभटेनी नजिकै सडकमा कार्यक्रम भइरहेकाले सवारी साधनलाई भाटभटेनीचोक र ईटालियनमोडबाट डाइभर्सन गरिएको छ। जसका कारण नक्साल र भाटभटेनी हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन्।
यस्तै, उपत्यकाका अन्य मुख्य चोकहरुमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ।
विभिन्न नाका प्रयोग गरी काठमाडौं उपत्यका भित्रिने तथा बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।