
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आज १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ।
बैंकले यस अवधिमा १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको जनाएको छ। बैंकले देशभरका २०० वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुल निक्षेप करिब २ खर्ब २ अर्ब रुपैयाँ संकलन गर्दा कर्जा तर्फ १ खर्ब ७३ अर्ब रुपैयाँ परिचालन गरेको छ।
बैंकले वार्षिकोत्सवका अवसरमा आज बिहानै सातवटै प्रदेशका कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण भएको बैंकले बताएको छ।
साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटलसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखी ‘ब्रिक बैंकिङ टू क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्म साथ गर्दै सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ‘ट्याप एन्ड पे’ सेवा संचालनमा ल्याएको छ। त्यस्तै, बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर सेवा पनि आजैदेखि संचालनमा ल्याइएको छ।
सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एपमार्फत अफलाइन माध्यमबाट नै ५ हजार रुपैयाँसम्मको भुक्तानी ट्याप एन्ड पेमार्फत सहज रूपमा गर्न सक्ने बैंकले जानकारी दिएको छ।
साथै, बैंकको क्रस बैंक टेलर क्यूआरमार्फत अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत क्यूआर स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यस सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकले नयाँ बचत खाता ‘सिटिजन्स फ्रिल्यान्सर सेभिड अकाउन्ट’ ल्याएको छ। बैंकले ‘सेभ लोकल, अर्न ग्लोबल – सिटिजन्स फ्रिल्यान्सर सेभिड अकाउन्ट’ भन्ने नाराका साथ उक्त नयाँ बचत खाता संचालनमा ल्याएको हो।
यो खाता विशेष गरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो। यस खाताका ग्राहकलाई नेपाली रुपैयाँ र अमेरिकी डलर बचत खाता खोल्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ। दुवै बचत खाताहरूमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ।
बैंकका अनुसार यस बचत खातामा पहिलो वर्षका लागि स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म (ओपीडी सेवा ५ हजार सम्म), दुर्घटना मृत्यु बीमा ३ लाख रुपैयाँसम्म तथा निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधाहरू समावेश गरिएको छ।