शालिग्राम संग्रहालय अवलोकन बढ्दै, १० महिनामा डेढ लाख पर्यटक कुँडुलेमा

बिजमाण्डू
२०८२ बैशाख ६ गते ०९:१० | Apr 19, 2025
शालिग्राम संग्रहालय अवलोकन बढ्दै, १० महिनामा डेढ लाख पर्यटक कुँडुलेमा


ढोरपाटन (बागलुङ)। शालिग्राम संग्रह हेर्न बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ। दुर्लभ मानिने शालिग्राम शिलालाई संग्रहालयमा १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ।

Tata
GBIME
NLIC

पछिल्लो समय प्रचारसँगै संग्रहालय पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको हो। विभिन्न जिल्लासँगै दक्षिण भारतबाट पर्यटक आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन्।

गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक आएको उनले बताए। सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको हो। पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेका छन्।

ऋषि प्रपन्नचार्यले भने, ‘सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ। अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर पनि जाने गरेका छन्।’

त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ। सङ्ग्रहालयमा ससानादेखि ३०० किलोसम्मका शालिग्राम छन्। सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखाकृतिको छ।

गैंडाकोटबाट घुम्न आएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए। पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको उनले सुनाए।

नवलपरासीबाट आएकी मेनुका पौडेलले ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न आएको बताइन। एकै ठाउँमा यति धेरै शालिग्रामको संग्रह दर्सनीय रहेको उनले बताइन। रासस