पूर्वीनाका काँकरभिट्टाबाट नौ महिनामा १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात

बिजमाण्डू
२०८२ बैशाख ६ गते ०५:४४ | Apr 19, 2025
पूर्वीनाका काँकरभिट्टाबाट नौ महिनामा १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात


भद्रपुर (झापा)। काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्षको नौ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।

Tata
GBIME
NLIC

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत छन्। उक्त अवधिमा सबैभन्दा धेरै चिया ८ अर्ब ४१ करोड ८९ लाख, अलैंची ५ अर्ब ६३ करोड २० लाख, प्लाइ तथा भेनियर २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

यसैगरी अदुवा २७ करोड २१ लाख, अम्लिसो ८७ करोड २१ लाख, बन्दा ८ करोड १७ लाख, जडिबुटी ४ करोड ५८ लाख, मसुरो दाल ४ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ। सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट २ अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ।

आयात हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशुका दाना लगायत छन्। क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार, चामल ६ करोड १ लाख, ताजा तरकारी ३४ करोड ४ लाख मूल्य बराबरको आयात भएको छ।

यसैगरी ताजा फलफूल ३१ करोड ८० लाख, लसुन ६३ करोड ८० लाख, आलु ३६ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। रासस