
काठमाडौं। अफसिजनमा महँगो हुनुपर्नेमा मागमा कमीका कारण अलैंचीको मूल्य घटेको छ। नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार अलैंचीको भाउ प्रतिमन ९५ हजार रुपैयाँमा आइपुगेको छ।
भट्टराईले भारतीय बजारमा माग घटेकाले अलैंचीको मूल्य ओरालो लागेको बताए। ‘भारतीय व्यवसायीले सिजनमा धेरै परिमाणमा अलैँची खरिद गरेर स्टक राखेका थिए। यसकारण अहिले माग कम छ। त्यहीकारण मूल्य पनि घट्यो,’ उनले भने।
चालु आवमा उत्पादन कम हुँदा अलैंचीको भाउ बढेर प्रतिमन एक लाख १४ हजार रुपैयाँसम्म पुगेको थियो। भारतमा पनि उत्पादन घटेका कारण नेपालको अलैंचीले राम्रो भाउ पाएको थियो।
कतिपय किसानले अफसिजनमा मूल्य अझै धेरै पुग्ने भन्दै बिक्री नगरी राखेका थिए। भाउ ओरालो लागेपछि उनीहरु हिस्स परेका छन्।
नेपालमा उत्पादन हुने अलैंचीमध्ये ८० प्रतिशत भारतमा निर्यात हुने गरेको छ। ५ प्रतिशत देशभित्र खपत हुन्छ भने बाद्ँकी अन्य देशमा निर्यात हुन्छ। चालु आर्थिक वर्षमा ५ अर्बभन्दा बढीको अलैंची निर्यात भइसकेको छ।