
काठमाडौं। सान्भी इनर्जीले शुक्रबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुलाई २ करोड ९१ लाख रुपैयाँको २ लाख ९१ हजार कित्ता सेयर छुट्याएको छ।
लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा वैशाख १९ गतेसम्म कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।
पहिलो चरणको निष्कासनमा इलामको इलाम नगरपालिका, माई जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाका आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले १० देखि २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ।
सान्भीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३७ करोड ९० लाख रुपैयाँको ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
कम्पनी चालु आर्थिक वर्ष पुससम्म १२ करोड १२ लाख रुपैयाँ संचित नाफामा छ। यस्तै, यो वर्ष ६ महिनामा प्रति सेयर आम्दानी ३.८१ र प्रति सेयर नेटवर्थ १२४.२० रुपैयाँ छ।
कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर निष्कासन गर्ने छ। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड छ।