नयाँ वर्षकै दिन भक्तपुरमा ६ अर्ब रुपैयाँको होटल प्रोजेक्ट सुरु, तीन वर्षमा तयार हुने



बसन्तराज उप्रेती
२०८२ बैशाख १ गते १२:४३ | Apr 14, 2025
नयाँ वर्षकै दिन भक्तपुरमा ६ अर्ब रुपैयाँको होटल प्रोजेक्ट सुरु, तीन वर्षमा तयार हुने


काठमाडौं। नयाँ वर्षकै दिन गैरआवासीय नेपाली शेष घले र समिट होटलका संस्थापक अमृतरत्न शाक्यले ६ अर्ब लगानीमा रिसोर्ट निर्माण सुरु गरेका छन्।

Tata
GBIME
Nepal Life

एक सय रोपनी क्षेत्रफलमा बनाउन लागिएको होटलको सोमबार शिलान्यास गरिएको छ। काठमाडौंमा फाइभस्टार होटल निर्माण गरिरहेका घलेले तीन वर्षभित्र भक्तपुरमा हाइ इण्ड रिसोर्ट तयार हुने बताए।

‘देशभित्र निराशा बढी छ। त्यसलाई हटाउनका लागि पनि लगानी आवश्यक छ,’ उनले बिजमाण्डूसँग भने, ‘अहिलेको कठिन अवस्थामा केही गर्नुपर्छ भनेर हामीले यो रिसोर्ट सुरु गरेका हौं।’

घलेको एमआइटी र शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी)को संयुक्त लगानीमा स्वनिग: रिसोर्ट बन्नेछ। रिसोर्ट भक्तपुरको घ्याम्पेडाँडामा बन्नेछ।

नेपाली तथा विदेशी हाइ इण्ड पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय चेनको व्यवस्थापन हुने गरी रिसोर्ट बनाउन लागिएको शाक्यले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय चेनका लागि विभिन्न कम्पनीसँग छलफल भइरहेको छ। आइइजीका प्रबन्ध निर्देशक शाक्यले नयाँ वर्षको पहिलो दिन भक्तपुरको मात्रै नभई देशकै महत्वपूर्ण योजना अगाडि बढेको बताए।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वैदेशिक लगानी सहजताका लागि सरकारले अध्यादेशमार्फत ऐनमा संशोधन गरेको भन्दै ख्यातिप्राप्त व्यक्तिको लगानीले उत्साहित बनाएको बताए। पूर्व उद्योगमन्त्री महेश बस्नेतले ठूलो लगानीको होटल परियोजना आउनु स्वागतयोग्य भएको बताए।

शाक्यले २० वर्षअघि नै पाइलट बाबा आश्रम छेउमा सय रोपनी जग्गा किनेका थिए। त्यही जग्गामा एमआइटी र आइइजीको ५०/५० प्रतिशत सेयर लगानी गरेर होटल निर्माण सुरु भएको हो।

रिसोर्ट मुलुकको संस्कृति, परम्परा, कला समेटेर निर्माण गरिने शाक्यले बताए।

‘यो रिसोर्टको एम्पि थियटरमा सांगीतिक प्रदर्शनी, काष्ठ कला प्रदर्शनी, ध्यान, थाङ्का पेन्टिङ लगायत हुनेछ,’ उनले भने, ‘यहाँबाट हिमश्रृङ्खला सहजै देख्न सकिन्छ। अझै यहाँ भगवान बुद्ध शयन गरेको आकृतिको घना जंगल छ।’

उनका अनुसार रिसोर्टमा न्यूनतम ४० देखि ६० वटा भिल्ला रहनेछन्।

नेवारी भाषामा स्वनिगः अर्थात काठमाडौं, पाटन र भक्तपुरको समिश्रण नाम हो। त्यसैले काठमाडौं, पाटन र भक्तपुरलाई एकैठाउँमा प्रतिबिम्बित गर्ने गरी रिसोर्टको डिजाइन तयार गरिंदैछ।

डिजाइनको जिम्मा अन्तर्राष्ट्रिय कम्पनीलाई दिइएको छ। रिसोर्टमा भिल्लासँगै स्वीमिङ पुल, फिटनेस क्लब, रेष्टुरेन्ट, सेमिनार हल, कन्फ्रेन्स हल लगायत सुविधा समावेश हुनेछन्।