
काठमाडौं। आफूले छहारी प्रदान गरेका शिक्षकहरुको आन्दोलनले राजनीतिक नेतृत्वको टाउको दुखिरहेका बेला अब कर्मचारीले पनि सडकमा ओर्लिने धम्की दिएका छन्।
दलैपिच्चेका संगठनमा आवद्ध शिक्षकहरुले नेपाल शिक्षक महासंघका नाममा स्थानीय तह मातहत बस्न मान्दैनौं भनेर चैत २० गतेदेखि काठमाडौंमा माइतीघरदेखि बानेश्वरसम्मको सडक कब्जा गर्दै आएकामा अब कर्मचारीले पनि सडक तताउने चेतावनी दिएका हुन्।
विभिन्न राजनीतिक दल सम्बद्ध विभिन्न ६ वटा कर्मचारी संगठनले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी १० बुँदे माग अगाडि सारेका छन्।
सत्तारुढ नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत दल सम्बद्ध कर्मचारी संगठनले सरकारी सेवामा खुला प्रतिस्पर्धाको कोटा घटाएर बढुवाको कोटा बढाउनुपर्ने, नेता र अन्य पहुँचवालाको पछि लागेर करारमा नियुक्ति पाएकाहरुलाई एक पटक उमेर हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नु पर्ने र त्यसमा असफल हुनेहरुलाई स्थायी कर्मचारीसरह उपदान दिएर अवकाश दिनुपर्ने लगायत माग अगाडि सारेर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।