
पोखरा। पोखराको हेम्जामा जारी १३ औं राष्ट्रिय हेम्जा आलु महोत्सवमा शुक्रबारसम्म ६ दिनमा करिब १७ लाख रुपैयाँको आलु बिक्री भएको छ। आयोजकका अनुसार महोत्सव मध्यतिर आइरहँदा आलुको कारोबार बढेको छ।
शुुक्रबारसम्म करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेकोमा १ हजार ६ सय ५० घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले बताए। ‘जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनेर लगेका छन्,’ उनले भने।
हेम्जाको आलु छिटो पाक्ने र स्वादिलो भएकाले उपभोक्ताको रोजाइमा पर्दै आएको शुक्रबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी पर्वत भुकताङलेकी सविता परियारले बताइन। स्थानीयस्तरमा उत्पादित आलु महोत्सवस्थलमा थुप्रो लगाएर राखिएको छ, जहाँ अवलोकनकर्ता पुगेर खरिद गरिरहेका छन्।
पोखरासँगै छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, रुपन्देही लगायतका जिल्लाबाट समेत अवलोकनकर्ता महोत्सवस्थल विष्णुपादुका खेल मैदान पुगेका छन्। आयोजकलाई आलु बिक्री गर्न भ्याइनभ्याई छ। यहाँ आलु प्रतिकेजी ४२ रुपैयाँ छ।
महोत्सवमा विभिन्न स्टलहरु छन्। सँगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने सांगीतिक कार्यक्रम पनि भइरहेको छ। छैटौं दिन शुक्रबार मात्रै ८ हजार जनाभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुका विभिन्न परिकार, कृषकका लागि माटो जाँच र बोटविरुवा परीक्षण तथा रोग निदानको व्यवस्था छ। आगामी बुधबारसम्म चल्ने महोत्सवमा कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छ।