वातावरणमैत्री यातायात र संरचना प्राथमिकतामा रहेको भौतिक पूर्वाधार मन्त्री दाहालको जिकिर

बिजमाण्डू
२०८१ चैत्र २९ गते १३:०२ | Apr 11, 2025
वातावरणमैत्री यातायात र संरचना प्राथमिकतामा रहेको भौतिक पूर्वाधार मन्त्री दाहालको जिकिर


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन्।

Tata
GBIME
NLIC

संरचनाहरु निर्माणको क्रम देखिनै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उनको भनाई छ।

सोसाईटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा शुक्रबार देखि काठमाडौमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उनले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको समेत उल्लेख गरेका हुन्।

नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपांगमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए।

सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक संजाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यस तर्फ समेत काम गरि रहेको उनले बताए।

दाहालले हालको अवस्थामा तीनवटा प्रमुख पूर्व–पश्चिम राजमार्गहरू र एक एशियाली मापदण्डको राजमार्ग एकै साथ निर्माण भइरहेको बताए। त्यसैगरी, उत्तर–दक्षिण दिशाका राजमार्ग र करिडोरहरूको पनि विकास भइरहेको र राजधानी काठमाडौं बाहेक, व्यापारिक र रणनीतिक दृष्टिले महत्वपूर्ण सडकहरू निर्माण भइरहेको जानकारी दिए।

नेपालमा केहि भएन र केहि हुन सकेन भन्ने भाष्य चिर्न जरुरी रहेको उनको मत थियो। सडक तथा पूलहरुका साथै हाल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भइसकेको र अब नेपाल आधुनिक सुरुङ मार्गको युगमा प्रवेश गरिसकेको उनले बताए।

नागढुंगा सुरुङ आगामी एक वर्षभित्र संचालनमा आउने तयारीमा रहेको र सिद्धबाबा सुरुङमा ब्रेकथ्रु भइसकेको तथा  द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण पनि तिव्र रुपमा भई रहेको उनले जानकारी दिए।

दाहालले भने, ‘जसले भन्छन् ‘केही भएको छैन’। उनीहरूलाई केही वर्षभित्रै हामी ४ देखि ६ लेनसम्मका पूर्व–पश्चिम राजमार्ग र कम्तिमा २ लेनका उत्तर–दक्षिण सडकहरू पूर्ण रूपमा निर्माण भइसकेको देखाउनेछौं।’

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा पूर्वाधार निर्माणको अवस्था, चरण र भावि कार्यदिशाका बारेमा जानकारी दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेतको आयोजनामा भएको तीन दिने सम्मेलनमा विश्वका विभिन्न देशका विज्ञ तथा प्राध्यापकहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष डा.हरेराम श्रेष्ठले बताए।