सिचुवान र हिमालयको व्यावसायिक उडानले भाइब्रेन्ट बन्दै पोखरा, व्यवसायी प्याकेजमा आक्रामक

वसन्तराज उप्रेती
२०८१ चैत्र १८ गते २१:२४ | Mar 31, 2025
सिचुवान र हिमालयको व्यावसायिक उडानले भाइब्रेन्ट बन्दै पोखरा, व्यवसायी प्याकेजमा आक्रामक

काठमाडौं। सिचुवान र हिमालय एयरलाइन्सले व्यावसायिक उडान थालेपछि पोखराका पर्यटन व्यवसायी उत्साही देखिएका छन्।

Tata
GBIME

सिचुवान एयरले चैत ४ गते साताको एउटा चार्टर्ड उडान सुरु गरेकामा हिमालय एयरलाइन्सले सोमबार नियमित व्यावसायिक उडान थालेपछि पोखराका व्यवसायी प्रचार-प्रसारमा जुटेका छन्।

हिमालय एयरलाइन्स पोखरामा नियमित व्यावसायिक उडान सुरु गर्ने पहिलो कम्पनी हो। कम्पनीले पोखरामा आफ्नो पहिलो नियमित उडानमा ल्हासाबाट १०७ यात्रु ल्याएको छ। हिमालयको जहाज पोखराबाट बुधबार ल्हासा जानेछ।

होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेलले पोखरामा नियमित व्यावसायिक उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साही भएको बताए। हवाई यातायातमार्फत चीनका दुईवटा प्रान्तसँग पोखरा जोडिएकाले अब पर्यटकको संख्यासँगै आर्थिक गतिविधि बढ्ने उनको विश्वास छ।

‘दुई वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुनु पोखरा मात्र नभइ समग्र मुलुकका लागि गौरवको कुरा हो,’ उनले भने, ‘पोखराका सबै पर्यटन व्यवसायीले आ-आफ्नो तर्फबाट चीनका विभिन्न प्रान्तमा आ-आफ्नो तर्फबाट प्रचार प्रसारदेखि प्याकेज बिक्री गर्न थालिसकेका छन्।’

सिचुवान एयरले चार्टर्ड उडानमार्फत १५ सय पर्यटक ल्याउने बताएको छ। पोखराका व्यवसायीले ती पर्यटकलाई लक्षित गरी चिनीयाँ ट्राभल एजेन्सीसँग मिलेर प्याकेज बनाइसकेका छन्।

यसैगरी सिचुवानमार्फत पोखरा-छेङ्दु यात्रा गर्ने नेपालीका लागि एक लाख रुपैयाँदेखि एक लाख २६ हजार रुपैयाँसम्मको प्याकेज बिक्री गर्न थालिएको छ।

पोखराबाट छेङ्दु सँगै विभिन्न गन्तव्यमा कनेक्टिङ फ्लाइटका लागि ५०० जनालाई आकर्षक प्याकेज बिक्री गर्ने योजना अगाडि बढाएको पौडेलले जानकारी दिए।

‘पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदैन भन्नेहरुका लागि एउटा जवाफ गएको छ। नियमित उडान सुरु भएसँगै विश्वका विभिन्न मुलुकका हाइइण्डदेखि सबै वर्गका पर्यटक ल्याउने बाटो खुलेको छ,’ उनले भने, ‘अब यो विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न हामी लागि परिसकेका छौं।’

उनका अनुसार प्राइभेट जेट सेवा प्रदायक आधा दर्जन कम्पनीसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका विषयमा छलफल चलिरहेको छ।

‘अहिले आधा दर्जन प्राइभेट चार्टर्ड कम्पनीले पोखरामा सेवा दिन चासो देखाइरहेका छन्। कम्पनीले आफ्ना क्लाइन्टलाई दिने सेवाबारे अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘प्राइभेट चार्टर्ड जेट आए पोखरा मात्र नभइ मुस्ताङसम्म पर्यटकीय गतिविधि बढ्नेछ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पोखराका निवर्तमान अध्यक्ष हरिराम अधिकारीले पोखराबाट नियमित उडान सुरु भएसँगै ट्राभल एजेन्सीले आकर्षक प्याकेज बिक्री गर्न थालेको बताए।

उनका अनुसार पोखरा-ल्हासा उडान सुरु भएसँगै ट्राभल एजेन्सीले ३ रात ४ दिनको प्याकेज बिक्री गर्न थालेका छन्। ‘छेङ्दु र ल्हासामध्ये ल्हासा आउटबाउन्ड डेस्टिनेसन हो। हामीले सुरुवातमा नेपालीलाई लक्षित गरी प्याकेज बनाएका छौं,’ उनले भने।

अधिकारीका अनुसार पोखरा-ल्हासाका लागि करिब एक लाख रुपैयाँको प्याकेज तयार गरिएको छ। व्यवसायीले पोखराबाट बङ्गलादेशतर्फको उडानका लागि पनि प्रयास गरिरहेका छन्।

एयर अस्त्रले एटीआर ७२ सिरिजको जहाजमार्फत उडान गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ।

पोखरा विमानस्थलमा थप अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी ल्याउन सरकारका तर्फबाट पनि प्रचार प्रसार आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखराबाट चीनका अरु प्रान्तमा पनि नियमित व्यावसायिक उडानका लागि पहल गरिरहेको बताए।

‘अबको डेढ महिनाभित्र नाट्टासँगको सहकार्यमा ग्वान्जाउ, बेइजिङ र सांघाइमा सेल्स मिसन आयोजना गर्नेछौं। दुवै मुलुकका टुर ओपरेटरबीच छलफल गरी दुईतर्फी फाइदाका लागि यो सेल्स मिसन आयोजना गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘ल्हासामा पनि हामीले कार्यक्रम गर्ने योजना बनाएका छौं।’

बोर्डले पोखराबाट बङ्गलादेशतर्फ पनि दुईतर्फी सिधा उडान गर्ने गरी छलफल थालेको छ।

करिब डेढ अर्ब जनसंख्या रहेको चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने व्यवसायीहरुको विश्वास छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनकै ऋण सहयोगमा तयार भएको हो। पोहोरको तुलनामा यो वर्ष ३ गुणा पर्यटक भित्र्याउन चीनलाई बढी प्राथमिकता दिइएको व्यवसायीहरुले बताए।

गत वर्ष १ लाख ४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। तीमध्ये ८० प्रतिशत पोखरा पुगेका थिए। सिधा उडानले पर्यटकको संख्या बढ्ने बुझाइमा व्यवसायीहरु आकर्षक प्याकेज बनाएर बिक्री गर्नतिर लागेका हुन्।

‘चिनियाँ पर्यटक काठमाडौंबाट पोखरा हुँदै अन्नपूर्ण बेसक्याम्प लगायत गन्तव्यमा गइरहेको अवस्था छ। अब सिधै पोखरा आउने सुविधा छ। त्यसैले चिनियाँ पर्यटक बढ्ने विश्वास गर्न सकिन्छ,’ लामिछानेले भने।