खुम्बु क्षेत्र जाने विदेशी पर्यटक बढेनन्, यात्रु अभावमा मन्थली-लुक्ला उडान आधा

बिजमाण्डू
२०८१ चैत्र १७ गते २०:०२ | Mar 30, 2025
खुम्बु क्षेत्र जाने विदेशी पर्यटक बढेनन्, यात्रु अभावमा मन्थली-लुक्ला उडान आधा

काठमाडौं। खुम्बु क्षेत्रमा पर्यटकको संख्या पोहोरको तुलनामा यसपालि घटेको छ। पर्यटक कम भएका कारण मन्थली-लुक्ला उडान संख्या बढ्न सकेको छैन।

Tata
GBIME

पोहोर यतिखेर एउटै वायुसेवा कम्पनीले दैनिक १० वटा सम्म उडान गरेकामा अहिले ५ बाट बढाउन सकेका छैनन्।

तारा एयरका उडान सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले पोहोरको तुलनामा यो वर्ष खुम्बु क्षेत्र जाने पर्यटक संख्या आधाभन्दा कम रहेको बताए।

‘मन्थली पुग्न सडक भनेजस्तो छैन। हवाई भाडादर महङ्गो भएका कारण पनि विदेशी पर्यटक त्यति आएको देखिंदैन,’ उनले भने, ‘हामीले पोहोर जस्तो उडान गर्न पाएका छैनौं।’  

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले मन्थली-लुक्ला उडानको पोहोरजस्तो नहुनुमा बिपी राजमार्गलाई मुख्य समस्याका रुपमा औंल्याए। ‘बिपी राजमार्गको यात्रा सहज छैन। त्यहीकारण काठमाडौंबाट मन्थली पर्यटक धेरै नहुँदा मन्थली-लुक्ला उडान संख्या बढ्न नसकेको हो,’ उनले भने।