पूर्वराजा ज्ञानेन्द्रको आन्दोलनका कमान्डर २४ घण्टादेखि अन्डरग्राउन्ड, प्रहरीका विभिन्न टोली खोजीमा परिचालन

सविन ढकाल
२०८१ चैत्र १६ गते २१:४२ | Mar 29, 2025
पूर्वराजा ज्ञानेन्द्रको आन्दोलनका कमान्डर २४ घण्टादेखि अन्डरग्राउन्ड, प्रहरीका विभिन्न टोली खोजीमा परिचालन


काठमाडौं। राजावादी समूहको शुक्रबारको हिंसात्मक प्रदर्शनको कमान्डर रहेका दुर्गा प्रसाईं प्रहरीको खोजी सूचीमा छन्। २४ घण्टा बितिसक्दा पनि प्रसाईँलाई प्रहरीले फेला पार्न सकेको छैन। आक्रमणमा संलग्न ११६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

Tata
GBIME
NLIC

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवल शम्मेर राणा लगायत छन्। सोही घटनामा भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

तर आन्दोलनका कमान्डर प्रसाईं‌ पक्राउ पर्न सकेका छैनन्। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, ललितपुर प्रहरी परिसरलगायतले दुर्गा प्रसाईंको खोजी गरिरहेका छन्। अहिलेसम्म कुनै सुराक हात पर्न सकेको छैन। प्रसाईंका नजिकका मानिससम्म पुगेर प्रहरीले जाल हानिरहेको छ।

प्रर्दशन भड्किएपछि केही समय एक सटरमा लुकेर बसेका प्रसाईं प्रहरीको ज्यान लिने गरी गाडी चलाएर सुरक्षा घेरा तोडेर भागेका थिए। प्रहरीलाई मार्नेगरि गाडी चलाउँदा पनि प्रसाईँलाई नियन्त्रण लिन नसक्नु प्रहरीको कमजोरी देखिएको थियो।

गाडी लिएर भागेका प्रसाईं त्यहाँबाट ललितपुरको इमाडोलमा पुगेका थिए। धर्मगुरु पुकार खतिवडाको घरमा उनी बसेका थिए। तर प्रहरी खतिवडाको घरमा पुग्ने सम्भावना देखेपछि भागेका थिए। उनको मोबाइल अफ छ। जिल्ला प्रहरी परिसर ललितपुरले उनको अन्तिम लोकेसन भैंसेपाटी देखाएको परिसरका एसपी नरहरि रेग्मीले बताए।

‘खतिवडाको घरमा केही समय बसेको देखियो। एक पटक भैंसेपाटी मोबाइलको लोकेसन देखाएको छ,’ एसपी रेग्मीले भने।

खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खतिवडा प्रदर्शनमा ढुंगामुढामा नै उत्रिएका थिए। प्रसाईंसहित हामी सुरक्षित छौँ’ भन्दै टिकटकमा भिडियो राख्ने मनीषजंग शाही र पशुपति खड्का पनि पक्राउ परेका छन्।

शुक्रबारको प्रदर्शनमा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।