
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ। आज अर्थ मन्त्रालयले संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालसँग बजेटबारे छलफल सकाएको छ।
मन्त्रालयहरुसँगको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। उनले संघीयताको मूल मर्म, तीन तहका सरकारको भूमिका, समन्वय र साझेदारीलाई जोड दिन आग्रह गरेका छन्।
प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने उनको भनाइ छ। पौडेलले विगतका सबै कार्यक्रम र योजनाहरुको समीक्षा गरी संघीय योजनाहरुमा केन्द्रित हुन, कार्यक्रम तथा योजनाहरु रोक्न, घटाउन, समायोजन गर्न, अत्यावशक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समय अनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजना समावेश गर्न आग्रह गरेका थिए।
यसैगरी पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गर्न पनि जोड दिएका छन् कार्यक्रम तथा योजना पेश गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेश गर्न पनि आग्रहसमेत गरे। उपलब्ध साधन स्रोतलाई ख्याल गर्दै जनताको आंकाक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ थियो।
दुई दिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरुसँग छलफल गरि बजेट विनियोजना साथै पूँजीगत खर्चमा पनि विशेष ध्यान दिन आग्रह गरेको थियो। अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ। तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने अर्थ मन्त्रालयले जनाएको छ।