
विराटनगर। कपडाको खुला तस्करी भइरहने पूर्वका नाकामा राजस्व अनुसन्धान कार्यालयले कारबाही सुरु गरेको छ। राजस्व अनुसन्धानले सशस्त्र प्रहरीसितको सहकार्यमा अवैध आयातका कपडा राख्ने गोदाममा छापा मारेर कारबाहीको सुरुवात गरेको हो।
उच्च भन्सार महसुलका कारण नेपालका कपडा पसलमा विक्री हुने कपडाको ठुलो हिस्सा अवैध रूपमा भित्रने गर्दछन्।
यसैबिच राजस्व अनुसन्धानको सुनसरी इटहरीस्थित कोशी प्रदेश कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले झापाको मेचीनगर नगरपालिकाका २ घरमा मंगलबार छापा मारेर महँगा मूल्यका कपडाका ५९ वटा पोका बरामद गरेको छ।
कार्यालयका प्रमुख उत्तमकुमार घिमिरेका अनुसार मेचीनगर नगरपालिका वडा नं। ६ स्थित बाहुनडाँगी टोलका मदन पोखरेल र उत्तम ठकुरीका घरबाट ५९ पोका कपडा बरामद गरिएको हो। प्रमुख घिमिरेले पोखरेलका घरबाट ३९ र ठकुरीका घरबाट २० पोका कपडा बरामद गरिएको जानकारी दिए।
कार्यालयले कपडाको पोका खोलेर थानगन्ती गरेको छैन। तर सबै पोकामा सर्टिङ–सुटिङ, महिलाले लगाउने महँगा कुर्तासुरुवाल, सारी लगायतका कपडा भएको बताइएको छ। पोखरेल र ठकुरी कारोबारी नै हुन् वा घरधनी मात्र भएर कारोबारी अन्य व्यक्ति हुन् भन्ने खुलेको छैन।
प्रमुख घिमिरेले दुबै घरधनीलाई बयानका लागि इटहरी बोलाइएको र अनुसन्धानबाट सबै खुल्ने स्पष्ट पारे।