
काठमाडौं । लेखा समितिमा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन भएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा नेकपा माओवादीका सांसदले बोल्न खोज्दा सत्तापक्षका सांसदले रोके पछि बैठकमा हंगामा भएको हो।
लेखा समितिको बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोल्न खोजेका थिए। तर, सत्तापक्षका सांसदले उनले बोल्न नमिल्ने र आफ्नो पालोमा बोल्न भने पछि लफडा भएको हो।
बोल्न खोज्दा सुरुमै मोदी र समिति सभापति ऋषिकेश पोखरेल र मोदीबीच पनि चर्काचर्की परेको थियो। मोदीले केही कुरा छन् बोल्नुपर्ने बताएका थिए। त्यसपछि पोखरेलले आजको विषयमा मात्रै बोल्ने भनेका थिए।
सभापतिको सो निर्देशनपछि मोदीले कुलमानको विषयमा बोल्ने बताए। त्यसपछि एमाले र कांग्रेसका सांसदहरुले मोदीलाई विषय केन्द्रित हुन भन्दै रोकेका थिए।
त्यसक्रममा एमालेका तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खान, मोहन बस्नेतले पनि मुखामुख गरेका थिए।
मोदीलाई बोल्न रोकेपछि रास्वपका सांसदहरु मनिष झा र हरी ढकालले बोल्न पाउनुपर्ने भन्दै साथ दिएका थिए। सत्तापक्षका सांसदहरुले मोदीलाई रोकेपछि रास्वपाका सांसदहरुमा समितिमा रुलिङ कसले गर्ने भनेका थिए।
केही समयको भनाभन पछि सांसदहरुले समितिमा आफ्नो राय राखेका थिए।
पूर्व ऊर्जा मन्त्री समेत रहेका जनार्दन शर्माले कुलमानलाई हटाउनुको मुख्य कारण काम गर्न नसकेको भन्ने रहेछ भन्दै यो कसैले नपत्याउने बताए।
‘यो दुर्भाग्य हो। यो निर्णय सच्याइयोस्। सरकार भोलि नपछुतावस्,’ उनले कूलमानलाई आफैले नियुक्त गरेको भन्दै भने।
समितिका सदस्य रामकृष्ण यादवले कुलमानलाई हटाउन नहुने बताएका थिए।
‘अहिले चर्चा परिचर्चा भएको छ। लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाउँ,’ उनले भने।
यस्तै, भनाभनपछि बोलेका अमनलाल मोदीले माओवादीको पालामा लोडसेडिङ अन्त्य भएको भन्दै नेपालमा हिजो देखि अँध्यारो भएको बताए।
‘काम गर्न सक्ने मान्छेलाई आज सरकारले बर्खास्त गरेको छ। घोर निन्दा गर्छु। डेडिकेटेड को रकम उठाउनु पर्छ भनेर हामीले भन्यौं। सरकारले बिचौलियाको काम गरिरहेको छ। बर्खास्त गर्ने निर्णयले दक्षिणपन्थी लाई मलजल गर्यो। अब डेडिकेटेड को विषय अब के हुन्छ? आज लेखेर पठाउँ,’ उनले भने।
मोदीले लेखा समितिले सरकारको छायाको काम गरिरहेको आरोपसमेत लगाएका छन्।
यस्तै, रास्वपा सांसद मनिष झाले समितिले कुलमान हटाएको विषयमा धारणा बनाउनुपर्ने बताए?
‘त्यसमा हाम्रो धारणा चाहियो चाहियो। निकाली छाड्नु भयो। अब बाँकी रहेको बक्यौता हो, कसरी उठाउँछ? मेरो माग छ, आज नै तोकियोस् बक्यौता को छलफल कहिले गर्ने त्यो निर्णय गर्नु पर्यो। आजै पनि कुरा गर्न सक्छौं,’ उनले भने।