जापानमा ४६ वर्ष जेलमा बिताएपछि सफाइ पाएका पूर्वबक्सरलाई १४ लाख डलर क्षतिपूर्ति

बिजमाण्डू
२०८१ चैत्र १२ गते १३:१८ | Mar 25, 2025
जापानमा ४६ वर्ष जेलमा बिताएपछि सफाइ पाएका पूर्वबक्सरलाई १४ लाख डलर क्षतिपूर्ति
हत्या अभियोगमा ४६ वर्ष जेल जीवन बिताएर सफाइ पाएपछि छुटेका इवाओ हाकामादा । तस्वीर : एपी


टोकियो। हत्याको आरोपमा दोषी ठहर भएर विश्वमै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक पूर्वबक्सरले १४ लाख डलर क्षतिपूर्ति पाउने भएका छन्।

Tata
GBIME
NLIC

यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ। हाल ८९ वर्षका हाकामादामाथि सन् १९६६ को चार जनाको हत्याको अभियोग थियो। उक्त मुद्दामा गत वर्ष उनले बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए।

सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दाबीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए। सोही अदालतले गत सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबर्जस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए। यसलाई उनले पछि फिर्ता लिएको अदालतले जनाएको छ। स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो। तर, हाकामादाको कानुनी टोलीले उनले भोगेको पीडालाई पैसाले पूरै सम्बोधन गर्न नसक्ने बताएको छ।

दशकौंको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा हाकामादाको मानसिक स्वास्थ्यमा निकै असर पारेको छ। उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन्। हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौं कैदी हुन्। अघिल्ला सबै चार वटा मामिला पनि उनी निर्दोष ठहरिएका थिए। -एएफपी/रासस