
काठमाडौं। नेपाली बजारमा उपलब्ध ६ वटा गाडी ब्रान्डले भारतमा मूल्य बढाउने तयारी गरेका छन्। मारुती सुजुकी, टाटा मोटर्स, हुन्डाई लगायत कम्पनीले गाडीको मूल्य बढाउने भएका हुन्।
ती कम्पनीहरुले कच्चा पदार्थको उच्च लागत र आपूर्ति शृङ्खला सम्बन्धित लागतलाई कारण देखाउँदै अप्रिलबाट लागू हुने गरी मूल्य बढाउन लागेका हुन्।
मारुती सुजुकीले ४ र कियाले ३ प्रतिशतसम्म मूल्य बढाउने तयारी गरेका छन्। टाटा मोटर्सले नयाँ मोडेल र भेरियन्टका आधारमा सबै सेगमेन्टमा मूल्य वृद्धि गर्नेछ। उसले कति बढाउने भन्ने निर्णय गरिसकेको छैन।
मारुती सुजुकीले आफ्ना सबै गाडीको मूल्य बढाउन लागेको छ। कम्पनीले यो वर्ष तेस्रो पटक मूल्य बढाउन लागेको हो। जनवरी र फेब्रुअरीमा सेलेरियो, ब्रेजा, अल्टो के १० लगायत गाडीको मूल्य भारु ३२ हजार ५०० रुपैयाँसम्म बढाइएको थियो।
अप्रिलदेखि हुन्डाईका क्रेटा, भेर्ना, भेन्यू र टक्सन कार ३ प्रतिशतसम्म महँगो हुनेछन्।
कियाले आफ्ना सम्पूर्ण मोडेलका गाडीको मूल्य ३ प्रतिशतसम्म वृद्धि गर्ने निश्चित भइसकेको छ। कम्पनीले सेल्टोस, सोनेट, साइरोस, इभी ६, इभी ९, क्यारेन्स र कार्निवल गाडीको मूल्य बढाउन लागेको हो।
होन्डा इन्डियाका कुणाल बहलले अप्रिलदेखि लागू हुने गरी अमेज, सिटी, सिटी ई, एचईभी र एलिभेट मोडेलको मूल्य वृद्धि हुने बताए।
रेनो इन्डियाका सीइओ वेंकटराम मामिलापल्लेले क्विड, कागर र ट्राइबरको मूल्य २ प्रतिशतसम्म वृद्धि हुने बताएका छन्।
भारतमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्नेछ।