२० दिन ग्यारेजमा राखिएको ‘फुच्चे’को ट्रकमा २५ करोडको विदेशी मुद्रा, कसरी गरियो कलेक्सन ?

सविन ढकाल
२०८१ चैत्र ५ गते १७:०५ | Mar 18, 2025
२० दिन ग्यारेजमा राखिएको ‘फुच्चे’को ट्रकमा २५ करोडको विदेशी मुद्रा, कसरी गरियो कलेक्सन ?


काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी घर भएका फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामाले २० दिनदेखि गाडी चलाएका थिएनन्। आमाको नाममा दर्ता भएको ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रक पेन्टिङका लागि ग्यारेजमा थियो।

Tata
GBIME
NLIC

२० दिनपछि उनी काठमाडौंको सामाखुशीस्थित ग्यारेजबाट गाडी निकालेर सामान लिन रसुवा जाने भन्दै निस्किए। तर, धेरै अगाडि बढ्न पाएनन्। सोमबार राति ११ बजेतिर काठमाडौंको टोखा नगरपालिका-२ झोर नपुग्दै प्रहरीको नियन्त्रणमा परे।

सादा पोसाकमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुसाङलाई ट्रकसहित नियन्त्रणमा लियो। प्रहरीले ‘तपाइँको गाडीमा अवैधरूपमा ल्याएको विदेशी मुद्रा छ, गाडी छोड्नु’ भने।

डीएसपी अनिल घिमिरेको नेतृत्वमा गएको टोलीले गाडीको खानतलासी गर्‍यो। तर, सूचना पाएजस्तो विदेशी मुद्रा भेट्टाएन।

प्रहरीलाई ट्रकमा विदेशी मुद्रा भएको सूचना दिने व्यक्तिले डेढ महिनाअघि पनि यस्तै सूचना दिएका थिए। त्यतिखेरमा गाडीमा केही फेला परेको थिएन। प्रहरीले त्यतिखेर गाडी तोडफोड गरेको थियो। केही फेला नपरेपछि गाडीधनीले प्रहरीसँग क्षतिपूर्ति मागेका थिए।

त्यहीकारण प्रहरी टोलीले यसपालि गाडी नियन्त्रणमा लिने वित्तिकै विदेशी मुद्रा खोज्नका लागि तोडफोड गरिहालेन। सूचना दिने व्यक्तिले विदेशी मुद्रा फेला नपरे गाडीमा तोडफोडबापतको क्षतिपूर्ति आफूले बेहोर्ने बताएका थिए।

त्यहीकारण टोलीले विदेशी मुद्रा भेटिएन भनेर गाडी छोडेन। टोलीले ट्रक र चालक कुसाङलाई आफ्नो कार्यालयमा ल्यायो।

‘त्यहाँ धेरै समय लगाएर हेर्न रिक्स देखियो। त्यसैले हामीले कार्यालयमा ल्याएर गाडी खानतलासी गरेका हौं,’ एक अनुसन्धान अधिकृतले सुनाए।

ट्रकमा विदेशी मुद्रा लुकाइएको ठाउँ

खानतलासी गर्दा ट्रकमा ड्राइभर बस्ने ठाउँको बायाँतर्फ माथिल्लो भागमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा अमेरिकी डलर र युरो फेला पर्‍यो।

पैसा यति धेरै थियो कि प्रहरीले रातभर लगाएर गणना गर्‍यो। गणनाबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबर विदेशी मुद्रा भेटियो। सबैभन्दा धेरै युरो थियो।

यति ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको यो पहिलोपटक भएको प्रहरीको भनाइ छ।

प्रहरीले कुसाङमाथि अनुसन्धान गर्‍यो। उनी यसअघि पनि जेल बसेर निस्किएको खुल्यो, त्यो पनि सुन तस्करी प्रकरणमा। उनी २०७३ पुस १३ गते ७ किलो सुनसहित पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशमा ५ वर्ष कैद भुक्तान गरेर उनी २०७८ सालमा कारागारबाट निस्किएका थिए।

आइतबार पनि कुसाङ सुन लिनकै लागि विदेशी मुद्रासहित रसुवातिर हिंडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

‘सुन लिन हिंडेको हो भन्न सकिने अवस्था छ। यताबाट रकम लिएर उताबाट सुन ल्याउन खोजेको देखिन्छ,’ कार्यालय प्रमुख रमेश बस्नेतले भने।

नेपालमा चीनको केरुङ नाका हुँदै सुन तस्करी हुने गरेको छ। यस्तो कारोबारको भुक्तानी विदेशी मुद्रामा हुन्छ।

कुसाङले दिएको प्रारम्भिक बयान अनुसार गाडी रसुवागढीसम्म उनले लाने र त्यसपछि अर्कैले चीनसम्म पुर्‍याउने योजना थियो। कुसाङको गाडी रसुवागढीबाट चीनसम्म लान रसुवा घर भएका अर्का ड्राइभरलाई ५ हजार रुपैयाँ दिइएको समेत खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले रकम चिनियाँ नागरिकको भएको देखाएको छ। चिनियाँ नागरिकले सुन तस्करीका लागि नै विदेशी मुद्रा जोहो गरेको प्रहरीको बुझाइ छ। तर, ठूलो मात्रामा विदेशी मुद्रा कसरी कुन्साङको ट्रकमा पुग्यो भन्ने कुरा अनुसन्धानको र्‍याडरमा नै छ।

नखुलेको अनुसन्धानको पाटो

नेपालमा विदेशी मुद्रा सहजै प्राप्त गर्न सकिंदैन। विभिन्न कागजपत्र देखाएपछि सटही गर्न पाइन्छ, त्यो पनि बढीमा २ हजार ५०० डलरसम्म। त्यसका लागि सेवाग्राहीले भिसाका साथै आफू जाने देशको हवाई टिकट देखाउनुपर्छ।

यो बाहेक अवस्थामा विदेशी मुद्रा सटही गर्न पाइँदैन। भिसा र हवाई टिकट देखाएकै अवस्थामा पनि बैंकहरुले अहिले २५०० डलरसम्म सटही गर्न सक्ने अवस्था छैन। बैंकहरुले विदेशी मुद्रा अभावका कारण सेवाग्राहीलाई ४००/५०० डलरमा टार्ने गरेका छन्।

तर, यहाँ २५ करोड रुपैयाँ बराबरको डलर र युरो भेटिएको छ। यति धेरै रकम ब्ल्याक मार्केटबाट जम्मा गर्न कति समय लाग्यो होला? यो रकम विदेशबाट नै आएको त होइन? कि बैंक वा मनिचेन्जरबाट साटियो? यी प्रश्नको उत्तर भेटिएको छैन।

प्रहरीले काठमाडौंका केही मनीचेन्जरलाई शङ्काको घेरामा राखेको छ। तर, उनीहरुबाट पनि यति ठूलो परिमाणमा विदेशी मुद्रा सटही गर्न सम्भव देखिंदैन।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो प्रकरणमा कुसाङ भरिया भएको देखिन्छ। उनले चिनियाँ नागरिकले सामान भन्दै आफ्नो ट्रकमा राखेको तर विदेशी मुद्रा भन्ने जानकारी नभएको बताएका छन्।

तर, अघिल्लो अपराधको पृष्ठभूमि र गाडीमा फल्सबटम बनाइएकाले कुसाङलाई पनि तस्करी हुँदैछ भन्ने जानकारी रहेको प्रहरीको भनाइ छ।

‘उसले गाडीमा पेन्ट गर्नुको कारण नै नयाँ र पुरानो भाग नछुटियोस् भन्ने हो। फल्सबटम बनाएर सामान राखिएका कारण थाहा थिएन भनेर उ उम्किन पाउँदैन,’ ती अनुसन्धान अधिकृतले भने।

प्रहरीले थप अनुसन्धानको लागि कुसाङ र विदेशी मुद्रा राजस्व अनुसन्धान विभागलाई बुझाएको छ। बरामद रकमको नम्बर टिपेर राखिएको छ।