
काठमाडौं। फागुन लागेपछि बुलिस ट्रेन्ड देखिएको सेयर बजार दुई सातामै ‘रिभर्स’ भएको छ। फागुन १ गते २६७८ विन्दुमा रहेको नेप्से लगातार उकालो लागेर दुई सातामा २१२ अंकले वृद्धि भइ १८ गते २८९० अंकमा पुगेकामा मंगलबार २६९७ विन्दुमा आइपुगेको छ। फागुन तेस्रो सातादेखि सुरु भएको बियरिस ट्रेन्ड रोकिएको छैन।
राजनीतिक घटनाक्रमले बजार प्रभावित हुने गरेको छ। यसअघि विभिन्न पटक सरकार फेरिँदा, अर्थमन्त्री परिवर्तन हुँदा र मौद्रिक नीतिको प्रभावस्वरुप उतारचढाव देखिएका हुन्। बजारमा यसपटक आएको गिरावटलाई कतिपयले फागुन अन्तिम साता पूर्वराजाको पक्षमा भएको प्रदर्शनको ‘रिफ्लेक्सन’ भनेका छन्।
सरकार फेरिने हल्लाले पनि बजारलाई तरंगित बनाउने गरेको छ। ‘बजारमा सेन्टिमेन्टले काम गरेको छ। विभिन्न राजनीतिक गतिविधि भइरहेका छन्। त्यसले लगानीकर्तामा राजनीतिमै उचारचढाव आउने हो कि भन्ने परेको छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङमा सीइओ मनिषनारायण जोशीले भने, ‘लगानीकर्तामा एक प्रकारको सेन्टिमेन्ट र द्धिविधा देखिएका कारण नेप्से भोलाटायलमा चलिरहेको हो।’
१० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भइरहेकामा सोमबार दुई महिनायताकै न्यून ४ अर्ब ३४ करोड रुपैयाँको किनबेच भएको छ। यसअघि पुस २८ गते ३ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

वित्तीय सूचक अहिले बजारका लागि ठिकठाक छन्। बैंकहरुमा उच्च तलरता भएकाले कर्जाको ब्याजदर एकल अंकमा छ।उच्च तरलता र बैंकको न्यून ब्याजदरका बाबजुद सेयर बजारको गति उल्टो देखिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्थामा सुधार आउने गरी नेपाल राष्ट्र बैंकले फागुन दोस्रो साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेपछि बजार ३ दिन उकालो लागेको थियो। तर, मौद्रिक समीक्षापछिको वृद्धिले निरन्तरता लिन सकेन।
नयाँ गभर्नर नियुक्तिलाई लिएर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बजारका जानकारहरुको भनाइ छ।
‘गभर्नरको नियुक्तिलाई लिएर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। गभर्नर को नियुक्त हुन्छ भन्ने चासो लगानीकर्तामा हुने नै भयो,’ जोशीले भने।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिंदैछ। नयाँ गभर्नरको खोजी गर्न सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति बनाएको छ।
अधिकारीको आसन्न बहिर्गमनलाई लिएर लगानीकर्तामा उत्साह रहे पनि नयाँ गभर्नर को आउने भन्ने निश्चित नभएकाले कन्फिडेन्स नआएको लगानीकर्ता बताउँछन्।
‘२०७८ भदौमा नेप्सेले रेकर्ड बनाउँदाको बजारको अवस्था हेर्ने हो भने त्यसपछि लगानीकर्ताले गुमाएको पैसा अहिलेसम्म कभर हुन सकेको छैन। गभर्नरले एकैपटक कसेको नीतिले बजारमा परेको पेनलाई लगानीकर्ताले बिर्सिने कुरै छैन,’ एक लगानीकर्ताले भने, ‘त्यसैले अधिकारी कार्यकाल सकिएर बाहिरिन लाग्दा एक प्रकारको खुशीयाली त छ। तर, अब आउने गभर्नर पनि अधिकारीकै नीतिलाई निरन्तरता दिने खालका हुने हुन् कि भन्ने आशंका बजारमा छ।’

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब देखिएपछि सेयर बजारका लागि कसिलो नीति लिएका अधिकारीमाथि लगानीकर्ताको बुझाइ राम्रो छैन। उनले सेयर धितो कर्जाको जोखिमभार बढाउनेदेखि कर्जाको प्रवाहमा सीमा तोकेका थिए।
संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जाको सीमा हटाए पनि अरुका लागि १५ करोडको क्याप कायमै छ।
अधिकारीले जाने बेलामा बैंकहरुको नाफा र व्यवसाय बढ्ने नीति लिएका छन्। राष्ट्र बैंकले बैंकहरुको असल कर्जाको प्रोभिजन घटाउनुका साथै व्यवसाय बढ्ने गरी समीक्षाबाट खुकुलो व्यवस्था गरेको छ।
नीतिगत अंकुस हटाउँदै लगेपछि सेयर धितो कर्जाको आकार यस वर्ष बढ्दै गइरहेको छ। तर, नियामकको अनिश्चित नीतिका कारण लगानीकर्ता अझै हच्किएको अवस्थामा रहेको जानकारहरु बताउँछन्।
‘सूचकहरु सबै ठिकठाक छन्। राजावादीको प्रदर्शन र राजनीतिक अस्थिरताको हल्लाले बजार घटेको हो,’ भिजन सेक्युरिटिजका सञ्चालक राजकुमार तिमिल्सिनाले भने, ‘फण्डामेन्टल हिसाबले बजार दिगो भएर जाने आधार छन्। तर, लगानीकर्ता कन्फ्युजमा छन्। बजार बढ्छ भन्ने कन्फिडेन्स नआएसम्म लगानी गर्न कसैले पनि चाहँदैन।’