
काठमाडौं। गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले काठमाडौंको लैनचौरस्थित निर्माणाधीन होटललाई ‘लग्जरियस’मा रुपान्तरण गरेका छन्।
सुरुमा ८ अर्ब खर्च हुने अनुमान गरिएको होटललाई लगानी थपेर ‘लग्जरियस’ बनाउन लागिएको हो। घलेको अष्ट्रेलियन कम्पनी एमआईटी ग्रुप होल्डिङ्सका एक कर्मचारीले होटलको लागत १५ अर्ब रुपैयाँ पुग्ने बताए।
उनका अनुसार होटलमा यतिखेर धमाधम इन्टेरियरको काम भइरहेको छ। ‘हामी छिट्टै अपरेसनमा आउने तयारीमा छौं। शेराटनभन्दा पनि अपग्रेडेसन गर्दैछौं,’ उनले भने, ‘हामी सेभेन स्टार सरह सेवा दिने गरी सञ्चालनमा आउनेछौं।’
१३ रोपनी जमिनमा सन् २०१४ मा होटल निर्माण सुरु गरिएको थियो। भूकम्प, नाकाबन्दी, कोभिड लगायत कारण निर्माण लम्बिएको ती कर्मचारीले बताए।
होटलको डिजाइन सिंगापुरको कम्पनीले गरेको हो। निर्माण भने नेपाली कम्पनी टुण्डी कन्स्ट्रक्सनले गरिरहेको छ।
२२५ कोठाको होटल सञ्चालनमा आएपछि ५०० भन्दा बढीले रोजगारी पाउनेछन्। होटल बेसमेन्ट बाहेक १७ तलाको छ। बेसमेन्ट तीन तलाको छ।
होटलमा दुई हजार जना अट्ने क्षमताको ब्याङ्केट हल, दुईवटा सभा हल, तीनवटा बैठक हल, इन्फिनिटिभ स्विमिङ पुल, चारवटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा लगायत अन्तर्राष्ट्रियस्तरको सुविधा हुनेछन्। होटलमा क्यासिनो भने संचालन नगर्ने ती कर्मचारीले बताए।