कोटेश्वर-निर्मल निवास रुटमा थप ४ सय ट्राफिक प्रहरी, एयरपोर्ट प्रवेशमा कडाइ, सुरक्षा सतर्कता उच्च

बिजमाण्डू
२०८१ फागुन २५ गते ११:४४ | Mar 9, 2025
कोटेश्वर-निर्मल निवास रुटमा थप ४ सय ट्राफिक प्रहरी, एयरपोर्ट प्रवेशमा कडाइ, सुरक्षा सतर्कता उच्च


काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) लगायतले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गर्न लागेको कार्यक्रमलाई मध्यनजर गरेर आज प्रहरीको सुरक्षा संयन्त्र हाई अलर्ट छ।

Tata
GBIME
NLIC

एक महिना पोखरा बसेका पूर्वराजा शाह आज काठमाडौं आउँदैछन्। उनका समर्थकले विमानस्थलदेखि नै र्‍याली गर्ने तयारी गरिरहँदा सुरक्षा संयन्त्र सतर्क भएको हो। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा कमाण्डपोष्ट तयार गरेर सुरक्षाकर्मी परिचालन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिनभर सुरक्षा अवस्थाको मनिटरिङ गर्ने छ। काठमाडौं जिल्लामा ४ हजार सुरक्षाकर्मी परिचालित छन्। जिल्लामा कार्यरत प्रहरीले मात्र सुरक्षा व्यवस्था मिलाउन नसक्ने भएकाले प्रहरी प्रधान कार्यालय नक्सालबाट पनि ११३४ जना थप प्रहरी माग गरिएको छ।

ट्राफिक प्रहरीले भने नियमितभन्दा थप ४ सय जना परिचालन गर्ने भएको छ। विमानस्थलदेखि निर्मल निवाससम्म ४ सय ट्राफिक प्रहरी खटिने सुरक्षा स्रोतले जनाएको छ।

गत बुधबार राप्रपाले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको थियो, जसमा पूर्वराजा पक्षधरहरूको पनि उल्लेख्य सहभागिता थियो। उक्त र्‍यालीमा विवादास्पद व्यापारी भनेर चिनिएका दुर्गा प्रसाइँको समूह पनि मिसिएको थियो। जसले गर्दा राप्रपाको मोटरसाइकल र्‍याली ठूलो देखिएको थियो।

आजको कार्यक्रममा प्रसाइँ पनि सहभागी हुँदै छन्। जसले गर्दा प्रदर्शन शान्तिपूर्ण नहुन सक्ने अनुमान गरिएको छ।

‘कानुनविपरीत गएर गतिविधि गर्नेलाई तत्काल नै नियन्त्रणमा लिन्छौं। कारबाही हुन्छ। शान्तिपूर्ण रूपमा भने कार्यक्रम गर्न पाउनु हुन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने।

आजको कार्यक्रमलाई लिएर एकीकृत सुरक्षा योजना बनाइएको छ। जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले पनि सुरक्षा र सूचनाको लागि खटिने छन्। एक महिनादेखि उपत्यका बाहिर रहेका शाह बुधबार दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम छ। उनको स्वागतका लागि राप्रपाले काठमाडौं उपत्यका नजिकका जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, नुवाकोटबाट जुलुस ल्याउने तयारी गरेको छ।

‘बाहिरबाट पनि मानिस आउने सूचना आएको छ। त्यसलाई ध्यान दिएर सुरक्षा योजना बनाएका छौं,’ एसएसपी अधिकारीले भने।

राप्रपाले विमानस्थल पुग्नका लागि तीनकुने, चाबहिल  लगायत क्षेत्रमा मानिस जम्मा गर्ने तयारी गरेको छ। विमानस्थलबाट गौशाला, चाबहिल, नारायणगोपाल चोक हुँदै राजालाई निर्मल निवास पुर्‍याउने कार्यक्रम छ। उक्त समय राजधानीको सडकमा सवारी आवागमन प्रभावित हुने अनुमान छ। तर, सवारी आवागमन व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पर्याप्त जनशक्ति खटाएको छ। काठमाडौंमा १८ सय जना ट्राफिक प्रहरी कार्यरत छन्।

‘भरसक यातायात प्रभावित नहुने गरी सुरक्षा मिलाएका छौं। तर मानिस र सवारी भीड धेरै भएको खण्डमा केही समय सवारी डाइभर्सन हुन पनि सक्छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने।

कोटेश्वर, तीनकुने, महाजगञ्ज,  क्षेत्रमा सवारीको चाप बढे तत्कालै डाइभर्सन गर्ने तयारी छ।

सुरक्षा निकायले पनि पूर्वराजा शाह ३ बजे काठमाडौं आउने अनौपचारिक जानकारी लिएको छ। विमानस्थलमा अनावश्यक मानिस छिर्न सक्ने सम्भावना भएकाले चेकिङ कडा बनाइएको छ। विमानस्थलको गोल्डेन गेटमा चेकिङ भइरहेको छ। हवाई यात्रुलाई टिकट हेरेर प्रवेश दिइएको छ।

‘नियमित चेकिङ हुन्थ्यो। आज अलिक बढी सोधखोज हुन्छ। अनावश्यक मानिसलाई रोकिन्छ,’ विमानस्थलमा खटिएका एक प्रहरी अधिकृतले भने।