
काठमाडौं। देशलाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले रणनीतिक योजना बनाएको छ।
क्यान महासंघले हेटौंडामा दुई दिने बैठक राखेर देशको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्ने गरी आगामी दुई वर्षका लागि नयाँ रोडम्याप तयार पारेको हो।
बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणका लागि विद्यमान नीतिमा सुधार, प्रविधि विकास, अनुसन्धान प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट देशलाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित विभिन्न क्षेत्रहरूमा काम गर्ने योजना प्रस्तुत गरेकी थिइन्।
डेटा प्रोटेक्सन ऐन, ई-गभर्नेन्स ब्लुप्रिन्ट, राइड सेयरिङ ऐन, डन एनपी पोलिसी, इन्डस्ट्री ४.०, देशलाई उच्च साइबर सुरक्षा खतराबाट मुक्त पार्ने योजना, मेड इन नेपाल सफ्टवेयर र सेवाहरूको प्रवर्धन, आईसीटीको मानकीकरण र आईटी बोर्ड स्थापना, ब्रोडब्यान्ड इन्टरनेट कर परिमार्जन लगायत नीतिगत पहल अगाडि बढाइने पाण्डेले बताइन्।
क्यान महासंघले वैदेशिक लगानीमा पाँच प्रतिशतसम्म सेयर उपलब्ध गराउने र आईटी उद्योगमा कर छुटका लागि लबिइङ गर्ने भएको छ।
महासंघले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन विभिन्न पहल अघि बढाउने र डिजिटल अर्थतन्त्रलाई बढावा दिने उद्देश्यसहित ठोस कदम चाल्ने भनेको छ।
बैठकमा क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित कुमार पोदारले प्रविधि क्षेत्रको आर्थिक योगदान बढाउने नीति निर्माणको आवश्यकता औंल्याउँदै डिजिटल साक्षरता, नवप्रवर्तन, नीति सुधार र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।