स्काइप बन्द गर्ने माइक्रोसफ्टको घोषणा, निःशुल्क भ्वाइस-कलका कारण थियो लोकप्रिय

बिजमाण्डू
२०८१ फागुन १७ गते १६:३१ | Mar 1, 2025
स्काइप बन्द गर्ने माइक्रोसफ्टको घोषणा, निःशुल्क भ्वाइस-कलका कारण थियो लोकप्रिय
तस्बिर : एएफपी


भिडियो कल सेवा स्काइप आगामी मे महिनामा बन्द हुने भएको छ। विश्वभर करोडौं प्रयोगकर्ताहरू रहेको स्काइपको मालिक माइक्रोसफ्टले यस्तो जानकारी दिएको हो

Tata
GBIME
NLIC

कम्प्युटरबाट संसारभर रहेका साथीभाइ र परिवारका सदस्यसँग निःशुल्क भ्वाइस-कल गर्न मिल्ने स्काइप कुनै बेला विश्वकै लोकप्रिय वेबसाइटमध्ये एक थियो। यो सेवा पहिलो वा एक मात्र थिएन तर यसको निःशुल्क कम्प्युटर-टु-कम्प्युटर कल सुविधाले यसलाई लोकप्रिय बनाएको थियो।

एक्स (पहिले ट्विटर) मा स्काइपले प्रयोगकर्ताहरूले माइक्रोसफ्ट टिम्समा साइन इन गर्न सक्ने जानकारी दिएको छ। प्रयोगकर्ताहरूले आफ्ना सबै कुराकानी र सम्पर्कहरू माइक्रोसफ्ट टिम्समा कायम राख्न सक्नेछन्।

स्काइप सन् २००३ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। त्यसपछि सन् २०११ मा माइक्रोसफ्टले यसलाई ८.५ अर्ब डलरमा खरिद गरेको थियो। यो त्यतिबेला माइक्रोसफ्टको सबैभन्दा ठूलो अधिग्रहण थियो।

माइक्रोसफ्टले स्काइपलाई एक्सबक्स र विन्डोज डिभाइसहरू लगायत आफ्ना अन्य उत्पादनहरूमा एकीकृत गरेको थियो। डिसेम्बर २०१० मा, जब स्काइप दुई दिनसम्म विश्वभरि ठप्प भयो, प्रविधि उद्योग विश्लेषक ओम मलिकले यसलाई ‘आधुनिक वेबको प्रमुख एप्लिकेसनहरूमध्ये एक’ भनेका थिए।

स्काइप बन्द हुने खबर आएपछि यसका प्रयोगकर्ताहरूले पुराना स्मृतिहरू सम्झिएका छन्।

एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, ‘मेरो सबैभन्दा राम्रो साथी र मैले स्काइपमा धेरै राम्रो क्षणहरू सेयर गरेका छौँ। यो खबर निकै दुःखद छ। यसले मेरो किशोरावस्थाको अर्को एउटा टुक्रा हराएको महसुस गराएको छ।’

लुइस नाम गरेकी अर्की प्रयोगकर्ताले उनले र उनको पार्टनरले ट्रान्सअटलान्टिक सम्बन्ध हुँदा स्काइप प्रयोग गरेको बताइन्।

उनले भनिन्, ‘त्यो समयमा स्काइप निकै रोमाञ्चक आविष्कार जस्तो लाग्थ्यो। त्यो स्मार्टफोन र ह्वाट्सएप कलभन्दा पहिलेको समय थियो। अहिले जस्तो संसारभरि निःशुल्क कुराकानी गर्न पाउने सुविधा त्यतिबेला सामान्य थिएन।’

माइक्रोसफ्टले स्काइप किन्दा यो एप एक अर्ब पटक डाउनलोड भइसकेको थियो भने यसका करोडौं सक्रिय प्रयोगकर्ताहरू थिए।

माइक्रोसफ्टका तत्कालीन प्रमुख स्टिभ बाल्मरले त्यसबेला भनेका थिए, ‘हामी मिलेर रियल-टाइम कम्युनिकेसनको भविष्य निर्धारण गर्नेछौँ।’

तर ह्वाट्सएप र फेसबुक म्यासेन्जर जस्ता सेवाहरू लोकप्रिय बन्दै गएपछि स्काइप कमजोर हुन थाल्यो। सन् २०१७ मा माइक्रोसफ्टले स्काइपको नयाँ डिजाइन ल्यायो जसमा स्न्यापच्याट जस्तै केही फिचरहरू थिए। तर प्रयोगकर्ताहरूले यसलाई मन पराएनन्।

‘यो अपडेटले प्रयोगकर्ताहरूलाई झनै निराश बनाएको छ किनकि यो यस्तो समस्या समाधान गर्न खोज्दैछ जुन कहिल्यै थिएन,’ द नेक्स्ट वेबकी रिपोर्टर रेचेल कासरले त्यसबेला टिप्पणी गरेकी थिइन्।

सन् २०२१ को जुन महिनामा स्काइपको अन्त्य सुरु भइसकेको अनुमान गरिएको थियो। जब माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ घोषणा गर्‍यो, त्यहाँ पहिलो पटक स्काइप समावेश गरिएको थिएन। बरु माइक्रोसफ्ट टिम्सलाई डिफल्ट रूपमा राखिएको थियो।

कोभिड महामारीको समयमा माइक्रोसफ्ट टिम्सको लोकप्रियता बढेको थियो। किनकि मानिसहरू आफ्नो काम र व्यक्तिगत भेटघाट अनलाइनमा गर्न थालेका थिए।

स्काइप बन्द हुने खबर आएपछि माइक्रोसफ्टका कोलाबोरेटिभ एप्स एन्ड प्लेटफर्मका अध्यक्ष जेफ टेपरले एउटा ब्लग पोस्टमा कम्पनीले आफ्ना निःशुल्क सेवाहरूलाई टिम्समा केन्द्रित गर्न चाहेको बताएका छन्।

‘टिम्समा प्रयोगकर्ताहरूले स्काइपमा प्रयोग भइरहेका धेरै सुविधाहरू जस्तै एकल कल, समूह कल, मेसेजिङ, फाइल साझेदारी पाउन सक्छन्,’ उनले लेखेका छन्, ‘त्यसमाथि टिम्समा मिटिङ होस्ट गर्ने, क्यालेन्डर व्यवस्थापन गर्ने, कम्युनिटी बनाउने र सहभागी हुने सुविधा निःशुल्क उपलब्ध छ।’

अब स्काइप प्रयोगकर्ताहरूका लागि दुई विकल्प छन्- माइक्रोसफ्ट टिम्समा जाने वा च्याट, कन्ट्याक्ट र कल हिस्ट्री समावेश भएको आफ्नो स्काइप डाटा सार्ने।

माइक्रोसफ्टले पेड फिचर प्रयोग गर्ने स्काइप प्रयोगकर्ताले उक्त सेवा अर्को नवीकरण अवधिसम्म प्रयोग गर्न सक्ने जनाएको छ।