
काठमाडौं । भारतमा भर्खरै सकिएको महाकुम्भ मेलाका दौरान प्रयागराजमा दैनिक २ करोड बढी भक्तजनले मोबाइल ग्रीडमा जोडिए। प्रयागराजमा ६ हप्ता चलेको मेलाका कारण त्यहाँ संचालित टेलिकम अपरेटरहरुको प्रति ग्राहक औसत आम्दानीमा यसले उछाल ल्याएको हो।
भारतको दूरसञ्चार विभाग र टेलिकम अपरेटरहरुले महाकुम्भमा लागेको भीड र डेटा ट्राफिक व्यवस्थापनलाई ट्र्याक गर्न प्रयागराजमा विशेष सेल स्थापना गरेका थिए।
४४ दिनसम्म चलेको महाकुम्भमा जिओको फाइभजी नेटवर्कमा दुई करोड भ्वाइस र ४० करोड डेटा सेवाका लागि रिक्वेट आएको थियो। महाकुम्भका कारण डेटा ट्राफिक ५५ प्रतिशतले बढेको जिओले जनाएको छ। प्रयागराज जिल्लाको औसत् जनसंख्या करिब ६० लाख छ।
भारतभित्र र बाहिरबाट गरेर ६६ करोड भक्तजन महाकुम्भ मेलामा पुगेका थिए। जसका कारण भारतका टेलिकम अपरेटरहरुको प्रति ग्राहक औसत आम्दानी ४ देखि ६ प्रतिशतसम्म बढेको छ। मेलामा पुगेकाहरुले निरन्तर रिचार्ज गर्दा टेलिकम कम्पनीहरुको प्रति ग्राहक औसत आम्दानी १७२.५७ भारु पुगेको छ।
भारतको उत्तर प्रदेश राज्यको पूर्वी क्षेत्र सबैभन्दा ठूलो टेलिकम सर्कल मानिन्छ। जसले १० करोड १० लाख प्रयोगकर्तालाई सेवा दिन्छ। भारतभर कुल वायरलेस प्रयोगकर्ताको संख्या १ अर्ब १४ करोड हाराहारी छ। २०२४ नोभेम्बरसम्म जिओसँग उत्तर प्रदेशको पूर्वी भेगमा ४ करोड, एयरटेलसँग ३ करोड ६० लाख र भोडाफोनसँग १ करोड ६० लाख प्रयोगकर्ता छन्।
मेलाका क्रममा प्रयोगकर्ता बढ्ने देखेरै भोडाफोनले त्रिवेणी संगममा ३० नयाँ साइट थप्दै क्षमता वृद्धि गरेको थियो। उसले ४६ स्मल-सेल थप्दै ३२ किलोमिटर लामो फाइबर नेटवर्क बिछ्याएको छ।
एयरटेलले नयाँ २८७ साइट थप्दै ७४ किलोमिटर लामो फाइबर नेटवर्क विस्तार गरेको छ। जिओले ७९९ मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज स्पेक्ट्रम थप गरेको छ।