इभीको ऋण मूल्य अनुपातको सीमा घटाइएकामा नाडाको विरोध, ८० प्रतिशत नै कायम गर्न माग

बिजमाण्डू
२०८१ फागुन १५ गते १२:११ | Feb 27, 2025
इभीको ऋण मूल्य अनुपातको सीमा घटाइएकामा नाडाको विरोध, ८० प्रतिशत नै कायम गर्न माग
नाडाका अध्यक्ष करण चौधरी


काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधन (इभी)को ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झारिएकामा विरोध जनाएको छ।

Tata
GBIME
NLIC

नाडाले बिहिबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत इभीको ऋण मूल्य अनुपातको सीमा तल झार्नुलाई ग्रिन इनर्जीलाई प्राथमिकता दिने सरकारको नीतिविपरीतको कदम भनेको छ।

‘सरकारले नीतिगतरुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको नीतिलाई नै उपेक्षा गरेको देखिन्छ,’ नाडाले विज्ञप्तिमा भनेको छ, ‘विद्युतीय सवारीसाधनको व्यवसायमा लागेका व्यवसायीहरुलाई ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ।’

नाडाले राष्ट्र बैंकको नीतिबाट विद्युतीय सवारी साधन प्रयोगमा कमी आउने भन्दै ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत नै कायम गर्न आग्रह गरेको छ।

इन्धन गाडीको ऋण मूल्य अनुपातको सीमा ५० बाट ६० पुर्‍याइएकामा नाडाले यसलाई सराहनीय कदम भनेको छ।

राष्ट्र बैंकले फागुन १३ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा ऋण मूल्य अनुपात इभीको ८० बाट ६० प्रतिशतमा झारेकामा इनध्न गाडीको ५० बाट ६० प्रतिशत पुर्‍याएको थियो।