
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभामा विवाद भएको छ। सोल्टी होटलमा जारी ४७ औं साधारण सभामा सहभागी कतिपय सदस्यहरुले नेतृत्व सर्वसम्मतिमा छान्ने नाममा वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमति गरिएको भन्दै विरोध जनाएका हुन्।
नाडाका अध्यक्ष ध्रुव थापाले पूर्वअध्यक्षहरुसँगको छलफलका आधारमा साधारण सभाबाट सर्वसम्मतरुपमा करण चौधरीलाई अध्यक्ष बनाउने र अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षमा व्यवस्थापन गर्ने सहमति गराएका थिए। नाडामा वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था छैन। यसका लागि विधान संशोधन गर्नुपर्छ।
साधारण सभामा सहमति अनुसार सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने विषय प्रवेश गराइएपछि सदस्यहरुले सहमतिप्रति नै प्रश्न उठाएका हुन्। ‘विधानमै नभएको पदमा कसलाई ल्याउने भनेर सहमति गर्ने अधिकार अध्यक्ष र पूर्वअध्यक्षलाई कसले दियो?,’ साधारण सभाका कतिपय सहभागीले प्रश्न गर्दै सहमतिप्रति आफूहरुको समर्थन नरहेको बताएका छन्।
उनीहरुले नेतृत्व छान्ने आफूहरुको अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप समेत लगाए। उनीहरुले आफूहरुको आवाजलाई बेवास्ता गरे यस विषयलाई लिएर अदालत जाने चेतावनीसमेत दिएका छन्। नाडाका सदस्य दीपक थापाले नाडालाई दुई/चार जनाको मात्र संस्था बनाउन खोजिएको भन्दै सहमति कार्यान्वयन गर्न खोजिए अदालत जाने बताए।

नाडाका अर्का सदस्य महाबीर श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पद सर्जना गर्ने सहमतिप्रति आपत्ति जनाए। ‘सीमित व्यक्तिले एउटा कोठामा बसेर नयाँ नेतृत्व चयनमा सहमति गर्ने अधिकार कहाँबाट पाए?,’ उनले प्रश्न गरे, ‘अघि अग्रज दाईहरुले विरोध गर्दै अदालत जाने भन्नुभएको छ। त्यो सहमति यो हलबाट कसरी पारित हुन्छ?’
नाडाका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले नेतृत्व चयनमा गरिएको भनिएको सहमति नमान्ने बताए।
नाडाका अध्यक्ष थापाले भने व्यवसायीहरुबीच एकता कायम राख्न सर्वसम्मतरुपमा नेतृत्व छान्ने सहमति गरेको बताए। ‘यो पटक मात्र वरिष्ठ उपाध्यक्षमा चुनाव नहुने हो। अर्को पटकदेखि निर्वाचन हुन्छ,’ उनले भने।