
काठमाडौं। जर्मन लक्जरी स्पोर्ट कार ब्रान्ड पोर्साको म्याकन फोर इलेक्ट्रिक गाडी नेपाली बजारमा आएको छ।
गत जेठमा टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपाल भित्र्याएको काएरोस इन्टरनेसनल कम्पनीले अहिले म्याकन फोर इलेक्ट्रिक गाडी ल्याएको हो।
म्याकन फोर इलेक्ट्रिक गाडी ज्ञानेश्वरस्थित टेस्लाको शोरुममा राखिएको छ। नेपालमा पोर्साको गाडी योसहित दुई वटा मात्रै उपलब्ध छ।
पोर्सा म्याकन फोर इलेक्ट्रिकको मूल्य ३ करोड ६५ लाख रुपैयाँ छ। यो गाडी ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ।

व्यापारिक घरानाहरूले गाडी अर्डर गरेका हुन्।
यो गाडीमा २८५ किलोवाट क्षमताको मोटर पावर छ। यसले ३८२ हर्सपावर दिन्छ। यसमा लन्च कन्ट्रोलका साथ ओभर बुस्ट पावर ३०० किलोवाट क्षमताको छ।
यसमा भएको ब्याट्रीले फुल चार्जमा ४९५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। १०० किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध छ।

यो गाडीको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ भने एयर सस्पेन्सन भएकाले यसलाई २२६ एमएमसम्म बढाउन सकिन्छ।
यो गाडी ८०० भी आर्किटेक्चरमा निर्माण गरिएको छ। यसले २७० किलोवाट क्षमतासम्मको फाष्ट चार्जर सपोर्ट गर्छ।

