५ करोड मूल्यको पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपालमा, कसले किने ?

बिजमाण्डू
२०८१ जेठ १६ गते १८:४९ | May 29, 2024
५ करोड मूल्यको पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपालमा, कसले किने ?
पोर्सेको टाइकन फोर एस इलेक्ट्रिक गाडी


काठमाडौं। विश्व प्रसिद्ध जर्मन लक्जरी स्पोर्ट कार ब्रान्ड पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपाली बजारमा भित्रिएको छ।

Tata
GBIME
NLIC

केही दिन अगाडि नेपाल ल्याइएको गाडी जावलाखेल डिस्टिलरीका राजबहादुर शाहले किनेका छन्। शाहले काएरोस इन्टरनेसनल कम्पनीमार्फत ४ करोड ९५ लाख रुपैयाँमा गाडी खरिद गरेका हुन्। यो गाडी नेपाल भित्रिएका इभीतर्फ सबैभन्दा महँगो हो।

शाहले उक्त गाडी बुधबार यातायात कार्यालयमा दर्ता गराएका छन्। यो गाडीको ‘राइट ह्यान्ड ड्राइभ’ युके र हङकङमा मात्रै उपलब्ध छ। रातो कलरको गाडी हङकङबाट ४५ दिन लगाइ आयात गरिएको हो।

पोर्साको गाडी स्पाइडर म्यानका हिरो टम हल्यान्डले पनि चढ्छन्। उनले पोर्साका धेरै मोडलका गाडी राखेका छन्। पोर्सा कम्पनीले विश्व बजारमा गत वर्ष टाइकन मोडलको ४० हजार युनिट इभी बिक्री गरेको थियो।

गाडीमा ४०० किलोवाटसम्मको ओभरबुस्ट पावर र लन्च कन्ट्रोल सुविधा भएको मोटर छ। साथै ५३६ हर्सपावरको ओभरबुस्ट पावर सुविधा छ। यसैगरी यसले ५१२ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा अल ह्वील ड्राइभ सिस्टम छ। जसले सबै ह्वीलमा समानरुपमा पावर उपलब्ध हुन्छ। यसको टप स्पिड प्रति घन्टा २५० किलोमिटर छ।

यसमा १०५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। जसले फुल चार्जमा ६२० किलोमिटरसम्म दूरी पार गर्न सक्छ।

यसलाई ९.६ किलोवाट क्षमताको अल्टरनेटिङ करेन्ट(एसी) चार्जरबाट फुल चार्ज हुन १२ घन्टा लाग्छ। यसलाई ३२० किलोवाट क्षमताको डाइरेक्ट करेन्ट(डिसी) चार्जरले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

गाडीको लम्बाइ ४ मिटर ९५३ एमएम, चौडाइ १ मिटर ९५५ एमएम र उचाइ १ मिटर ११७ एमएम छ। साथै २ मिटर ८९५ एमएमको ह्वीलबेस छ। यो गाडीको ग्रस वेट २ हजार ८७९ किलोग्राम छ। यसको अगाडि ८५ र पछाडि ४०५ लिटरको बुट स्पेस छ। यसको म्याक्स ग्राउन्ड क्लियरेन्स १४४ एमएम छ।