ओडिसा घटना : आज नेपाली छात्राको पोस्टमोर्टम हुने, विद्यार्थी कुट्ने दुई सेक्युरिटी गार्ड पक्राउ

बिजमाण्डू
२०८१ फागुन ६ गते ०८:५० | Feb 18, 2025
ओडिसा घटना : आज नेपाली छात्राको पोस्टमोर्टम हुने, विद्यार्थी कुट्ने दुई सेक्युरिटी गार्ड पक्राउ
Photo : Odisha TV

भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टेलमा मृत भेटिएकी नेपाली छात्राको आज पोस्टमोर्टम हुने भएको छ।

Tata
GBIME
NLIC

बी टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल आइतबार आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। यो घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

लम्सालको परिवार आए लगत्तै आज(मंगलबार) भुवनेश्वरको अल इन्डिया अफ मेडिकल साइन्सेसमा पोस्टमोर्टम हुने जनाइएको छ।

यो घटनापछि विश्वविद्यालय परिसरमा नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका थिए। लम्सालले पहिलादेखि नै आफ्नो एक पुरुष साथीले दु:ख दिइरहेको बारे कलेज प्रशासनलाई भने पनि वास्ता नगरेको आरोप नेपाली विद्यार्थीहरुको छ।

प्रदर्शनपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई कलेज छाडेर जान भनेको थियो। बसमा राखेर उनीहरुलाई रेलवे स्टेसनसम्म पुर्‍याइएको थियो।

नेपाल सरकारले घटनाबारे तत्काल भारतीय पक्षसँग संवाद गरेको थियो। सामाजिक संजालमा पनि यो घटनालाई लिएर विश्वविद्यालयको आलोचना भएको थियो। त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई फिर्ता बोलाएको थियो।

हाल विश्वविद्यालय परिसरमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ।

विश्वविद्यालयमा विद्यार्थीमाथि हातपात गर्ने दुई जना सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। अखिल भारतीय विद्यार्थी परिषद्को उजुरीमा प्रहरीले ती सेक्युरिटी गार्डलाई पक्राउ गरेको जनाइएको छ। ती गार्डहरुले विद्यार्थीलाई हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।

नेपाली विद्यार्थीमाथि अपमानजनक व्यवहार गर्ने कलेजका कर्मचारी र शिक्षकमाथि पनि कारबाही हुनुपर्ने माग गरिएको छ।

प्रहरीले घटनाबारे सबै पक्षसँग संवाद गरेर अनुसन्धान गरिरहेको छ।

यो घटनालाई ओडिसाका शिक्षा मन्त्री सूर्यवंशी सुरजले दु:खद् भनेका छन्। उनले यसबारेमा मुख्यमन्त्रीलाई ब्रिफिङ गरिएको र दोषीलाई कारबाही गरिने बताएका छन्। उनले नेपाली विद्यार्थीमाथि कुनै प्रकारको दबाब नदिन कलेज प्रशासलाई निर्देशन दिएको र राज्य सरकारले यो घटनालाई नजिकबाट नियालिरहेको बताएका छन्।