
काठमाडौं। वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुवै सुस्ताउन पुगेको छ। मंसिर र पुसमा कर्जा लगानी र निक्षेप संकलन बढेकामा माघमा पुन: सुस्ताएको हो।
माघमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहको वृद्धिदर घटेको छ। कर्जा मंसिरमा ४२ अर्ब र पुसमा ९४ अर्ब प्रवाह भएकामा माघमा १२ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ।
यस्तै निक्षेप मंसिरमा ३३ अर्ब र पुसमा ५३ अर्बले बढेकोमा माघमा ९ अर्बभन्दा बढ्न नसकेको तथ्यांक छ। वाणिज्य बैंकहरुले माघसम्म कुल ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
माघमा १४ बैंकले कर्जा लगानी बढाउँदा ६ बैंकको खुम्चिएको छ। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको कर्जा ४ अर्ब २२ करोड रुपैयाँले बढेको छ। पुस मसान्तमा बैंकको कुल कर्जा १ खर्ब ३९ अर्ब ५ करोड रहेकामा माघ मसान्तमा आइपुग्दा १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ पुगेकाे छ।
माघमा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५७ अर्ब, एभरेष्ट बैंकले ३ अर्ब ५१ करोड, हिमालयन बैंकले ३ अर्ब ४५ करोड, प्रभु बैंकले ३ अर्ब १३ करोड, एनएमबि बैंकले २ अर्ब ५९ करोड र नबिल बैंकले २ अर्ब ७२ करोड रुपैयाँ कर्जा बढाएका छन्।
सिद्धार्थ बैंकले सबैभन्दा थोरै २४ करोडले कर्जा बढाएको छ।
कर्जा खुम्चिनेमा एनआईसी एसिया, कुमारी, स्टान्डर्ड चाटर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र राष्ट्रिय वाणिज्य बैंक छन्।
एनआइसी एसिया बैंकको कर्जा सबैभन्दा धेरै ८ अर्ब ६८ करोड रुपैयाँले खुम्चिएको छ। त्यसैगरी, कुमारी बैंकको ३ अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ९२ करोड, नेपाल एसबिआईको २ करोड र राष्ट्रिय वाणिज्य बैंकको ८१ करोड रुपैयाँले कर्जा खुम्चिएको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत (सीइओ) सुदेश खालिङले आयातका लागि जाने कर्जाको माग घटेकाले त्यसको असर देखिएको बताए।
‘मंसिर र पुसमा प्रशोधित तेलको कच्चा पदार्थ आयातका लागि कर्जाको माग राम्रो थियो। सोयाको क्रुड आयलका लागि उच्च मात्रामा कच्चा प्रदार्थ आयात भएको थियो। त्यसले कर्जाको माग बढाएको थियो,’ उनले भने, ‘त्यसको पनि चक्र हुन्छ। आयात भइसकेपछि त्यसलाई निर्यात गरेपश्चात पछि अर्को आयातका लागि २/३ महिना लाग्छ। त्यसकारण कर्जामा कमी भएको छ।’
उनका अनुसार होटल र जलविद्युत क्षेत्रमा कर्जाको माग छ। तर अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ। ‘अहिलेको आर्थिक परिदृश्य हेर्दा तुरुन्तै माग बढेर कर्जा बढिहाल्ने अवस्था छैन,’ उनले भने।
वाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था
बैंक | २०८१ माघसम्मको कर्जा (रु. अर्बमा) | २०८१ पुससम्मको कर्जा (रु. अर्बमा) | फरक (रु. अर्बमा) |
कृषि विकास | २०७.१८ | २०६.९४ | ०.२४ |
सिटिजन्स | १६८.६८ | १६६.७ | १.९८ |
एभरेष्ट | २२०.८२ | २१७.३१ | ३.५१ |
ग्लोबल आइएमई | ४३१.३४ | ४३०.५ | ०.८४ |
हिमालयन | २५०.८२ | २४७.३७ | ३.४५ |
कुमारी | ३०१.५७ | ३०५.३ | -३.७३ |
लक्ष्मी सनराइज | २८१.६१ | २७८.०४ | ३.५७ |
माछापुच्छ्रे | १४३.७२ | १३९.५ | ४.२२ |
नबिल | ४११.८३ | ४०९.११ | २.७२ |
नेपाल | २२४.२२ | २२२.८७ | १.३५ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ३५१.५ | ३५५.४२ | -३.९२ |
नेपाल एसबिआई | १३९.४८ | १३९.५ | -०.०२ |
एनआईसी एसिया | २५२.४५ | २६१.१३ | -८.६८ |
एनएमबि | २३२.०७ | २२९.४८ | २.५९ |
प्रभु | २३४.३३ | २३१.२ | ३.१३ |
प्राइम कमर्सियल | २१२.९२ | २११.७ | १.२२ |
राष्ट्रिय वाणिज्य | २८३.५३ | २८४.३४ | -०.८१ |
सानिमा | १७७.३४ | १७४.५२ | २.८२ |
सिद्धार्थ | २१६.५७ | २१६.३५ | ०.२२ |
स्टान्डर्ड चाटर्ड | ८५.८७ | ८८.३४ | -२.४७ |
जम्मा | ४८२७.८५ | ४८१५.६२ | १२.२३ |
माघमा १० बैंकले निक्षेप बढाउँदा १० बैंकको भने खुम्चिएको छ। वाणिज्य बैंकहरुले माघसम्म संकलन गरेको निक्षेप रकम ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
माघमा एनएमबि बैंकमा सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपिएको छ। त्यसैगरी, नबिल बैंकमा १० अर्ब ४० करोड, एभरेष्ट बैंकमा ८ अर्ब ४० करोड र सानिमा बैंकमा ४ अर्ब २० करोड रुपैयाँ निक्षेप थपिएको छ।
निक्षेप खुम्चिनेमा एनआईसी एसिया, नेपाल एसबिआई, स्टान्डर्ड चाटर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, प्रभु, नेपाल, कुमारी, हिमालयन र ग्लोबल आइएमइ बैंक छन्। एनआईसी एसिया बैंकको निक्षेप सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँले खुम्चिएको छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेयले निक्षेपको वृद्धि घट्दै जानुलाई यसको चक्र पूरा भएको संकेतका रुपमा लिएका छन्।
‘विगतको निक्षेपको साइलक हेर्दा अब निक्षेप बढ्ने क्रम अन्त्य भएको देखिन्छ। अब निक्षेप बढ्ने देखिंदैन,’ उनले भने, ‘विगतमा निक्षेप रिभर्स हुँदा कर्जा बढ्ने अवस्था हुन्थ्यो। अहिले निक्षेप बढ्न नसेकेको बेलामा कर्जा पनि बढ्न सकेन भने सन्तुलित नै रहन्छ।’
वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था
बैंक | २०८१ माघसम्मको निक्षेप (रु. अर्बमा) | २०८१ पुससम्मको निक्षेप (रु. अर्बमा) | फरक (रु. अर्बमा) |
कृषि विकास | २५६.७८ | २५१.६२ | ५.२ |
सिटिजन्स | २००.९८ | १९७.६२ | ३.४ |
एभरेष्ट | २६१.०१ | २५२.५८ | ८.४ |
ग्लोबल आइएमई | ५२९.२ | ५३४.०७ | -४.९ |
हिमालयन | ३००.७२ | ३०४.५४ | -३.८ |
कुमारी | ३६१.८७ | ३६६.६४ | -४.८ |
लक्ष्मी सनराइज | ३४७.२२ | ३४५.२१ | २.०१ |
माछापुच्छ्रे | १६८.३५ | १६७.१८ | १.२ |
नबिल | ४९९.५४ | ४८९.१३ | १०.४ |
नेपाल | ३०४.२९ | ३०७.८३ | -३.५ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ४४७.६७ | ४४५.१४ | २.५ |
नेपाल एसबिआई | १८२.३४ | १८९.१७ | -६.८ |
एनआईसी एसिया | ३०२.३२ | ३१३.९१ | -११.६ |
एनएमबि | २६१.०३ | २४९.४१ | ११.६ |
प्रभु | ३०९.१६ | ३०९.७३ | -०.६ |
प्राइम कमर्सियल | २३८.८१ | २३५.७४ | ३.१ |
राष्ट्रिय वाणिज्य | ४४४.३७ | ४४६.८२ | -२.४ |
सानिमा | २१३.६ | २०९.४२ | ४.२ |
सिद्धार्थ | २४३.३ | २४७.१३ | -३.८ |
स्टान्डर्ड चाटर्ड | १२४.४९ | १२४.८८ | -०.४ |
जम्मा | ५९९७.०५ | ५९८७.७७ | ९.३ |