इभीको पेनिट्रेसनमा नेपाल विश्वमै दोस्रो, प्यासेन्जर गाडीमा विद्युतीयको हिस्सा ६३ प्रतिशतसम्म

शुक्र गिरी
२०८१ फागुन १ गते १५:४४ | Feb 13, 2025
इभीको पेनिट्रेसनमा नेपाल विश्वमै दोस्रो, प्यासेन्जर गाडीमा विद्युतीयको हिस्सा ६३ प्रतिशतसम्म


काठमाडौं। नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (इभी)को पेनिट्रेसन ६३ प्रतिशतसम्म पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा इभीको पेनिट्रेसन ६३ प्रतिशतसम्म पुगेकामा चालु वर्ष पनि त्यसकै हाराहारी देखिएको छ।

Tata
GBIME
NLIC

चालु वर्षको ६ महिनाको तथ्यांकले इभीको पेनिट्रेसन गत वर्षको भन्दा धेरै हुने देखिन्छ। इभीको पेनिट्रेसन यो वर्ष पुससम्म ५७ प्रतिशत छ।

नेपाली बजारमा इभीको सबैभन्दा धेरै पेनिट्रेसन प्यासेन्जर सेगमेन्टमा छ। 

पोहोर ११ हजार ७०१ युनिट प्यासेन्जर इभी आयात हुँदा इन्धन प्यासेन्जर गाडी ४ हजार २२५ युनिट भित्रिएका थिए। यो आर्थिक वर्ष पुससम्म ५ हजार ४८० युनिट इभी भित्रिँदा २ हजार ३५४ युनिट इन्धन प्यासेन्जर गाडी आयात गरिएको छ।

विश्व बजारलाई हेर्ने हो भने इभीको बिक्री दरका आधारमा नेपाल नर्वेपछि दोस्रो स्थानमा छ। गत वर्ष नर्वेमा बिक्री भएका प्यासेन्जर गाडीमा ९५ प्रतिशत हिस्सा इभीको थियो। नेपाल पछि तेस्रो स्थानमा स्वीडेन छ। जसले गत वर्ष कूल गाडीमध्ये ६० प्रतिशत इभी बिक्री गरेको थियो।

यसकारण रोजाइमा इभी

इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार इभीको पेनिट्रेसन बढ्नुमा सहुलियत र करमा दिइएको छुट मुख्य कारण हो। यस्तै जिरो इमिसनको स्ट्यान्डर्डले पनि यसमा ठूलो सहयोग गरेको देखिन्छ।

सरकारले वातावरण जोगाउनका लागि इन्धन प्रयोगलाई निरुत्साहित गर्ने नीति लिनुलाई पनि इभीको बजार विस्तार हुनुको कारण मानिएको छ।

कर छुट र कर्जा लिंदा बैंकहरुले दिएको सुविधाका कारण इभीको पेनिट्रेसन बढेको टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङका प्रमुख कार्यकारी अधिकृत(सीइओ) एवम् नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठको बुझाइ छ।

‘अहिले कर कम हुनुका साथै बैंकिङ सेक्टरले प्रवाह गर्ने ऋण सहुलियतका कारण इभीको बजार राम्रो छ,’ श्रेष्ठले भने, ‘नेपालको सन्दर्भमा अपरेटिङ लागत इन्धन गाडीको भन्दा निक्कै कम हुनु पनि ग्राहकको रोजाइमा इभी पर्नुको कारण हो। निक्कै कम खर्चमा चार्ज गरेर चलाउन मिल्ने भएकाले ग्राहकहरुमा इभीप्रतिको रुची बढ्दो छ। इभी ड्राइभ गर्न एकदम सजिलो छ।’

अहिले इन्धन गाडी खरिदका लागि बैंकहरुले ५० प्रतिशत मात्रै ऋण दिन्छन्। तर इभी खरिद गर्न चाहने ग्राहकले बैंकबाट ८० प्रतिशतसम्म ऋण पाउँछन्। केही बैंकहरुले इभीमा लगानी गर्न ग्रिन फण्ड ल्याएका छन्। जसले गर्दा उनीहरुलाई इभीमा ऋण लगानी बढाउन सहज भएको छ।

सरकारले इभीलाई २०७३ देखि प्राथमिकतामा राखेको छ। इभीमा करको दर सुरुदेखि नै कम छ। बीचबीचमा केही परिवर्तन भएपनि करको दर अझै इभीको फेवरमा छ। दर कम हुँदा इभीको मूल्य करकै कारण धेरै हुन पाएन।

करको दर इन्धन गाडीमा धेरै छ। सरकारलाई बुझाउनुपर्ने करकै कारण इन्धन गाडी महँगो भएका हुन्। यसबाहेक इन्धन गाडीमा प्रयोग हुने पेट्रोलमा ग्राहकले प्रति लिटर ४० प्रतिशतभन्दा धेरै कर तिर्नुपर्छ।

इभीका लागि आवश्यक इकोसिस्टम र पूर्वाधार विस्तारमा निजी क्षेत्रले ठूलो लगानी गरेका कारण त्यसले ग्राहकहरुलाई विद्युतीय गाडी किन्न प्रोत्साहन पुगेको श्रेष्ठको भनाइ छ।

‘चार्जिङ पूर्वाधार विकासमा लगानी बढेको छ। चार्जिङ स्टेसनको संख्या बढिरहेका कारण इभी प्रयोगकर्ताहरूलाई सुविधा पुगेको छ। गाडी चार्ज गर्न नपाइएला भन्ने अवस्था छैन,’ यनले भने।

नेपालमा अहिले ६०० भन्दा धेरै डीसी फाष्ट चार्जिङ नेटवर्क संचालनमा छन्। इभीप्रतिको आकर्षणका कारण ६०० भन्दा बढी चार्जिङ स्टेसन बनाउने निजी क्षेत्रको तयारी छ। त्यसका लागि निजी क्षेत्रले नेपाल विद्युत प्राधिकरणसँग अनुमति मागेको छ।

विश्व बजारमा यस्तो अवस्था

विश्व बजारमा इभीको बिक्री सन् २०१७ देखि बढ्न थालेको हो। तर नर्वे, नेपाल, स्वीडेन लगायत देशमा जस्तो व्यापकता अन्यत्र देखिंदैन। विश्व अटो बजारमा बिक्री हुने प्यासेन्जर गाडीमा इभीको हिस्सा २५ प्रतिशत पुगेको छ।

२०२४ मा १ करोड ७१ लाख युनिट प्यासेन्जर इभी बिक्री भएको तथ्यांक छ। इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार चीनले मात्रै १ करोड १० लाख इभी बिक्री गरेको छ।

एजेन्सीले २०२५ मा प्यासेन्जर सेगमेन्टमा ५ करोड इभी कार बिक्री हुने प्रक्षेपण गरेको छ।