
काठमाडौं। नेपाली सेनाले भरतपुर विमानस्थलसँगै जोडिएको आफ्नो घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न ५० रोपनी जग्गा पाएको छ। सेनाले चितवनको शक्तिखोरमा ५० रोपनी जग्गा पाएको हो।
जग्गा पाएसँगै सेनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र डीपीआरको काम अगाडि बढाएको छ।
नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले शक्तिखोरमा ५० रोपनी जग्गा प्राप्त भएको र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न ईआईए, डीपीआर गर्ने लगायत काम अगाडि बढाएको जानकारी दिए।
‘हामीले शक्तिखोरमा घोडा प्रजनन् केन्द्र स्थानान्तरणका लागि ईआईए र डीपीआरको काम अगाडि बढाएका छौं,’ उनले भने, ‘तर यो वर्ष २५ करोड रुपैयाँ मात्र बजेट रहेका कारण कामलाई गति दिन अर्को वर्षसम्म कुर्नुपर्छ।’
घोडा प्रजनन् केन्द्र स्थानान्तरणका लागि एक अर्ब रुपैयाँ लाग्ने सेनाको अनुमान छ। घोडा प्रजनन् केन्द्र स्थानान्तरणपछि सेनाले आफ्नो २२ रोपनी जग्गा भरतपुर विमानस्थललाई दिनेछ।
सेनाले घोडा प्रजनन् केन्द्र स्थानान्तरण नगरेका कारण भरतपुर विमानस्थलको धावनमार्ग विस्तार हुन सकेको छैन।
विमानस्थलको १२ सय मिटर लम्बाईको धावन मार्ग १७ सय मिटरको बनाउने योजना अनुसार दुई वर्षअघि नै केसी-क्षमादेवी-प्रतीक्षा देवी जेभीलाई करिब २ अर्ब रुपैयाँमा ठेक्का दिइएको थियो।
भरतपुर विमानस्थलमा हाल बुद्ध र श्री एयरलाइन्सले नियमित व्यावसायिक उडान गर्दै आएका छन्। बुद्धले एटीआर-४२ र श्री एयरलाइन्सले टर्बोप्रोप जहाजमार्फत उडान गर्दै आएका छन्।