
काठमाडौं। जापनिज गाडी निर्माता निसानले होन्डासँग मर्जरमा नजाने निर्णय गरेको छ। केही समय अगाडि यी दुई ठूला अटोमेकरले विद्युतीय गाडी उत्पादन गर्न मर्जरमा जाने घोषण गरेकामा निसान ब्याक भएको हो।
निसान कम्पनीको बोर्ड बैठकले नै मर्जरलाई अगाडि नबढाउने निर्णय गरेको छ। निसानले इभी उत्पादनका लागि आवश्यक लगानी आफैं गर्ने योजना बनाएको छ।
रोयटर्सका अनुसार होन्डाले निसानलाई सहायक कम्पनीका रुपमा रहने गरी मर्जरको प्रस्ताव गरेको थियो। त्यसैले निसानको बोर्ड बैठकले सहायक कम्पनीको रुपमा मर्जर हुन अस्वीकार गर्ने निर्णय गरेको हो।
होन्डा निसानको बजार मूल्यभन्दा ५ गुणा ठूलो छ। होन्डाको बजार मूल्य करिब ५१.९० बिलियन डलर बराबर छ।
इभीले बजार लिएका कारण निसानले पछिल्लो समय अन्य प्रतिस्पर्धीले भन्दा बढी संकट सामना गर्दै आएको छ।
होन्डासँग मर्जरको घोषणाबाट पछि हटेपछि निसानको सेयर मूल्य टोकियो स्टक एक्सचेन्जमा ४ प्रतिशतभन्दा बढी झरेको छ। तर होन्डाको सेयर मूल्य भने ८ प्रतिशतले बढेको छ।

होन्डा टोयोटापछि जापानको दोस्रो ठूलो र निसान तेस्रो ठूलो कार निर्माता हुन्। यी दुईले ६० अर्ब डलरको टाइ अप गरी विश्वको तेस्रो ठूलो अटोमेकर बन्ने लक्ष्यसहित गत डिसेम्बरमा मर्जरको घोषणा गर्दा तरंग पैदा गरेको थियो।