चेक बाउन्समा चार वर्षसम्म कैद, बैंकिङ कसुर विधेयकले समेटेन डिजिटल भुक्तानीमा हुने ठगी

बिजमाण्डू
२०८१ माघ २७ गते २२:२० | Feb 9, 2025
चेक बाउन्समा चार वर्षसम्म कैद, बैंकिङ कसुर विधेयकले समेटेन डिजिटल भुक्तानीमा हुने ठगी

काठमाडौं। झण्डै डेढ वर्षपछि प्रतिनिधि सभाबाट बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० पारित भएको छ। २०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले विधेयक दर्ता गरेका थिए। 

Tata
GBIME
NLIC

अर्थ समितिले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। २०८१ भदौ  २५ गते समितिबाट पारित भए पनि भदौ ३१ गते संसद्को अधिवेशन अन्त्य भएपछि पारित प्रक्रिया अघि बढेको थिएन। अब राष्ट्रिय सभाले पनि पारित गरेपछि विधेयक प्रमाणीकरण प्रक्रियामा जानेछ।

प्रतिनिधि सभाको आइतवारको बैठक

चेक बाउन्समा अधिकतम ४ वर्षसम्म कैद

विधेयकको दफा ७ लाई संशोधन गरेर चेक बाउन्समा १० करोडभन्दा माथिको बिगोमा २ देखि ४ वर्ष कैद सजायको व्यवस्था गरिएको छ। सरकारले विधेयकमा अधिकतम कैद सजाय दुई वर्षको प्रस्ताव गरेको थियो। अर्थ समितिले १५ लाखसम्मको बिगोमा एक महिना, १५ लाखभन्दा बढी ५० लाखसम्मको बिगोमा एक महिनादेखि तीन महिना कैदको व्यवस्था गरेको हो। ‘५० लाखभन्दा बढी एक करोडसम्मको बिगोमा तीन महिनादेखि एक वर्ष, एक करोडभन्दा बढी १० करोडसम्मको बिगोमा दुई वर्षसम्म र १० करोडभन्दा माथिको बिगोमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने,’ प्रतिवेदनमा उल्लेख छ। 

कैद सजाय सम्बन्धि व्यवस्था

डिजिटल कारोबारबारे मौन

सांसदहरूले समितिमा छलफलका क्रममा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा संशोधन गर्न ल्याएको विधेयकले डिजिटल भुक्तानीमा हुने अपराधलाई नसमेटेको भन्दै समेट्न आग्रह गरेका थिए। विधेयकलाई समयसापेक्ष बनाउनुपर्ने सांसदहरूको माग थियो।

क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता विषयमा विधेयक मौन रहेको भन्दै त्यति बेला सरकारको आलोचना भएको थियो। हाल चेकबाट मात्र नभई डिजिटल बैंकिङ प्रणालीमार्फत ठूला-ठूला अपराध हुने गरेका भए पनि उक्त विधेयकमा उक्त व्यवस्था समेटिएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले डिजिटल भुक्तानीको विषय विधेयकमा नभएको भन्दै आलोचना गरे। ‘डिजिटल भुक्तानीलाई समेट्न सकेको देखिएन। साइबर अपराधमार्फत हुने घटनामा बैंक अछुतो छैन,’ उनले भने।

सरकारले भने चेक बाउन्सको विषयमा मात्रै कानुनी व्यवस्था प्रस्ट गर्न खोजिएको भन्दै विधेयकको बचाउ गरेको छ। 

अदालती प्रक्रिया सरलीकरण गर्ने दाबी

बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन तथा सजायलाई पारदर्शी बनाउन कानुनी व्यवस्था गरिएको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै बैंकिङ कसुरको अनुसन्धान तथा सजायलाई सहजीकरण गर्ने व्यवस्था विधेयकमा भएको बताए।

‘कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सोउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी बनाउनका लागि र सरलीकरण गर्नका लागि विधेयक आएको हो। यसमा चाहिँ बैंक तथा वित्तीय संस्थामा रकम भएको झुठा विवरण पेस गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने यस्ता प्रवृत्ति बढेको र सोको कारणबाट बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र न्याय निरूपण गर्ने अधिकारी र निकायमा मुद्दाको चाप ठूलो संख्यामा बढ्दै गरेको अवस्था थियो,’ पौडेलले भने।

‘समस्याको समाधान भएन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितलाई नयाँ कानुनी व्यवस्थाले झन् पीडित बनाउने दाबी गरिन। मिटरव्याजसम्बन्धी कानुनी व्यवस्थापछि पनि मिटरव्याज पीडितको समस्या समाधान हुन नसकेको भन्दै उनले भनिन्, ‘मिटरब्याज पीडित त झन् डबल भिक्टिमाइज हुने भए। चेक बाउन्समा पनि अर्को मुद्दा लाग्ने भयो।’

सुमना श्रेष्ठ

सत्तारुढ दल नेकपा (एमाले) का सांसद अच्युत मैनालीले चेक नसाटिएको अवस्थामा बैंकले चेक प्रदान गर्नेलाई नै जानकारी दिने, सुनुवाइको अवसर दिने भएकाले विधेयकमा भएको व्यवस्था स्वागतयोग्य भएको बताए।

‘जनताको आर्थिक कारोबारलाई व्यवहारिक प्राथमिकता दिएको छ। चेक दिने र धारकको लेनदेनको अवस्थाभन्दा पनि चेकको सैद्धान्तिक मान्यतालाई कडाइ गर्नेगरी आएको छ,’ उनले भने।