
काठमाडौं। मुलुकको सबैभन्दा पारदर्शी र व्यवस्थित रुपमा चलिरहेको बैंक तथा वित्तीय संस्थाहरूमाथि एकपछि अर्को निशाना साँध्न थालिएको छ।
निश्चित समूहले आफ्नो स्वार्थका लागि वित्तीय क्षेत्रलाई तहसनहस बनाउन खोजेका छन्। उनीहरूको उद्देश्य अर्थतन्त्र मात्रै होइन देशलाई नै संकटको भूमरीमा पार्नु रहेको स्पस्ट देखिन्छ।
केही समय पहिले लघुवित्त र बैंकको ऋण तिर्नु पर्दैन भनेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले ऋणीहरूलाई उक्साएका थिए। आफ्नो राजनीतिक उचाइका लागि वित्तीय क्षेत्रमा प्रसाईंले निशाना साँधेको कुरा छिपेको छैन। अहिले पाथीभरा केवलकार निर्माणको विषयमा ग्लोबल आइएमई बैंकलाई गलतरुपमा मुछेर बैंकिङ प्रणाली भड्काउने काम भएको छ।
बैंकमा कुनै व्यावसायिक घरानाको होइन ९० प्रतिशतभन्दा बढी सर्वसाधारणको लगानी हुन्छ, त्यही संस्थामाथि राजनीतिक उचाइका लागि केही स्वार्थप्रेरित व्यक्तिले निरन्तर प्रहार गरिरहेका छन्।
सबैभन्दा बढी पारदर्शिता रहेको र देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकिङ क्षेत्रप्रति अनास्था फैलाउने प्रचारबाजीलाई बैंकरहरूले गम्भीररुपमा लिएका छन्।
आफूहरूमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिकरुपमा नै आपत्ति जनाएका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्तरुपमा प्रेस विज्ञप्ति निकालेर बैंकिङ क्षेत्रविरुद्ध अफवाह फेलाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
‘यस क्षेत्रलाई खल्बलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक संजालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खल्बलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गर्दछौं।’
देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बैंक तथा वित्तीय क्षेत्रमा नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्छ। राष्ट्र बैंकको नीति नियमको अधिनमा रहेर बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्। बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल मानिन्छ।
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण र विभिन्न संस्थासँग करिब ६७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्।
निजी क्षेत्रको व्यवसाय विस्तारमा बैंकिङ क्षेत्रको मुख्य भूमिका रहेको अवस्थामा यो वास्तविकतालाई बेवास्ता गरी कतिपयले अनास्था फैलाउने प्रयास गरिरहेका छन्। केही समय पहिले कतिपय लघुवित्तको कार्यालय नै तोडफोड गरिएको थियो। दर्गा प्रसाइँको गलत प्रचारको असर लघुवित्तले अहिले पनि भोगिरहेका छन्।
चार संस्थाले देशका बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता रहेको र आजको दिनमा संस्थाहरू सुरक्षित रहेको स्पष्ट पारेका छन्। उनीहरूले सेवासुविधा आगामी दिनमा अझै बढी सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएका छन्।