सुभमले जस्तै कर्मचारी बनेर कसैले तपाईंसँग डिजिटल वालेटको ‘ओटीपी’ त मागेको छैन?

बिजमाण्डू
२०८१ माघ २४ गते १२:३७ | Feb 6, 2025
सुभमले जस्तै कर्मचारी बनेर कसैले तपाईंसँग डिजिटल वालेटको ‘ओटीपी’ त मागेको छैन?


काठमाडौं। रौतहटको माधवनारायण गाउँपालिका-२ घर भएका २१ वर्षीय सुभम साह प्रहरीमा ‘पटके ठग’ भनेर चिनिने गर्छन्। उनीविरुद्ध अहिले ५ वटाभन्दा बढी ठगीका मुद्दा चलिरहेका छन्।

Tata
GBIME
NLIC

उनै साह केही दिनअघि पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को फन्दामा परे। सुभमले ठगीका लागि पछिल्लो समय अनलाइनलाई माध्यम बनाएका थिए। जसमा विशेषगरी डिजिटल वालेट चलाउनेहरू उनको निशानामा थिए।

पछिल्लो समय डिजिटल वालेटको नक्कली कर्मचारी बनेर धेरैको रकम ठगी गर्ने घटना बढेपछि ब्युरोले विशेष अपरेसन चलाएको छ। अनलाइन ठगी र क्रिप्टोसँग उनीहरूको कनेक्सन देखिएको छ।

यसअघि ब्युरोले यस्तै ठगी गर्ने ९ जना युवालाई नियन्त्रणमा लिएको थियो। ब्युरोका अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका थिए।

यस्तै, अपरेसनका क्रममा सुभम पनि सीआइबीको फन्दामा परेका हुन्। उनको कनेक्सन पनि अनलाइन ठगीबाट क्रिप्टोसम्म जोडिएको ब्युरोका एसपी सुधीरकुमार शाहले बताए।

‘ठूलो समूहमा अनलाइन ठगी गर्ने गिरोह परिचालन भएको सूचनाको आधारमा हामीले अपरेसन गरेका हौं। अझै केही हाम्रो निगरानीमा छन्,’ एसपी शाहले भने।

सुभमलाई २०७८ फागुनको पहिलो साता अनलाइन ठगीमा पक्राउ गरिएको थियो। ई-सेवाले बोनस बाँड्दै छ, आफ्नै ई-सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाइन्छ भन्दै उनले प्रलोभन देखाएर ठगी गरेका थिए।

‘म ई-सेवाको कर्मचारी हुँ’ भन्दै उनले विभिन्न कुराहरू गरी विश्वासमा पारेर ई-सेवा आइडीको ओटीपी लिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। ओटीपी लिएपछि बैंक खातामा समेत पहुँच बनाई उनले ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेका थिए।

ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आइफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमति गरी उनले पीडितको खाताबाट सिधै मोबाइल विक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरेका थिए।

उनी १० महिना कैद भुक्तान गरेर छुटे। तर उनको ठगी धन्दा भने रोकिएन। पछिल्लो समय पनि उनले विभिन्न वालेटको कर्मचारी बनेर नै ठगी गरिरहेका थिए। यसरी ठगेको रकमले उनले क्रिप्टो कारोबार गर्ने गरेको पनि खुलेको छ।

प्रहरीले अहिले यसरी वालेटको ओटीपी कसैलाई नदिन, अपरिचितले पठाएको विभिन्न लिङकहरू नखोल्न र कसैको प्रलोभनमा परेर आर्थिक लाभ हुने गतिविधि नगर्न आग्रह गरेको छ। अन्यथा अरु व्यक्तिहरू पनि सुभम जस्तै नक्कली कर्मचारीको फन्दामा परेर ठगिने प्रहरीले सचेत गराएको छ।