क्लास र लग्जरी दुवैमा बलियो विकल्प डिपल इ जेरो सेभेन, एसयुभी नै पिकअप पनि

बिजमाण्डू
२०८१ माघ २५ गते ०९:१८ | Feb 7, 2025
क्लास र लग्जरी दुवैमा बलियो विकल्प डिपल इ जेरो सेभेन, एसयुभी नै पिकअप पनि


काठमाडौं। चांगान मोटर्सको चार प्रमुख ‘फ्ल्यागसिप प्रोडक्ट’मध्ये एक हो- डिपल ई-जेरो सेभेन। एसयुभी सेगमेन्टको डिपल ई-जेरो सेभेनले नेपाली बजारमा लग्जरी सेगमेन्टमा बलियो विकल्प पेस गरेको छ। यस पटकको टेस्ट ड्राइभमा हामीले यो कारलाई दुई दिन परीक्षण गर्‍यौं।

Tata
GBIME
NLIC

पहिलो दिन काठमाडौं र भक्तपुरका सहरी क्षेत्रमा यसलाई कुदायौं। दोस्रो दिन भने थोरै अफरोडसहित धुन्चेसम्म पुर्‍यायौं- घुम्ती र उकाली ओराली गर्दै।

नेपाली बजारमा भित्रिएको विलासी कारको पावर पर्फर्मेन्स कस्तो छ त? के नेपाली सडकमा यो गाडीले आफूलाई बलियो रुपमा स्थापित गर्न सक्ला? चांगान मोटर्सको विरासतले केही जवाफ दिन्छ, केही भने हाम्रो टेस्ट ड्राइभले।

चीनको दोस्रो ठूलो अटो कम्पनी चांगानसँग यस इन्ड्रस्टीमा ४० वर्षको ऐतिहासिक पृष्ठभूमि छ जसले सयौं वर्षको इतिहास बोकेका युरोपेली र अमेरिकी कम्पनीहरूलाई कमजोर साबित गरिरहेको छ। अटोपूर्व सैन्य सामग्री उत्पादनमा लामै विरासत बनाइसकेको हो यस कम्पनीले।

चिनियाँ ब्रान्डका अलावा फोर्ड, माज्दा र जेएमसीजस्ता ब्रान्डसँगको सहकार्यले ग्लोबल अटो इन्ड्रस्टीमा यसले विशेष स्थान बनाइसकेको छ। रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी)मा ठूलो लगानी गरेको कम्पनीमा ३१ मुलुकका १८ हजार इन्जिनियर र प्राविधिक जोडिएका छन्।

त्यसैले पनि चांगनले आफूलाई बलियो चिनियाँ ब्रान्डका रुपमा स्थापित गरेको छ। विभिन्न मुलुकमा गरी कम्पनीको १४ वटा उत्पादन गर्ने बेस छ भने ३४ वटा प्लान्ट।

जतिसुकै सुविधासम्पन्न प्लान्टमा बनेको भए पनि नेपाली सडकअनुकूल भएन भने कुनै पनि गाडी हाम्रा लागि औचित्यपूर्ण हुँदैन। अझ भनौं, जहाँसुकै बनेका कार पनि नेपाली बाटोमा कुदेपछि मात्रै सही रुपमा परीक्षण हुन्छ। किनकि हाम्रो बाटोको नापनक्सा कहाँ र कतिखेर फेरिएको हुन्छ पत्तै हुन्न।

डिपल ई-जेरो सेभेनको डोर अनलक भएसँगै गाडी स्टार्ट मोडमा पुगिहाल्छ। ढोका खोल्यो सिटले वेलकम गर्छ डिपलका अघिल्ला दुई मोडलमा जस्तै।

ड्राइभिङ सिटमा बसेसँगै सिट सेभ गरिएको मोडमा मुभ हुन्छ। ई-जेरो सेभेनमा को-ड्राइभर सिटमा पनि यस्तै वेलकमिङ वातावरण समावेश छ।

फुल एसयुभी भएकाले रुम स्पेस अत्यधिक छ। ड्राइभिङलाई आरामदायी बनाउने मामिलामा कम्पनीले कुनै कसर छोडेको छैन- सिटमा बस्नासाथ जो कसैले त्यसको अनुभूति गरिहाल्छ।

टेस्ट ड्राइभको पहिलो दिन हामीले सहरी बाटोमा मात्र परीक्षण गर्‍यौं। स्पोर्ट मोडमा गाडीलाई लैजान नै परेन। ‘इको’ मोड नै काफी रह्यो।

गाडीको आकार मिड साइज एसयूभीभन्दा केही ठूलो भएकाले सडकमा निक्कै नोटिस हुने रहेछ। त्यसमाथि भर्खर नेपाली बजारमा उत्रिएकाले हुनुपर्छ- धेरैको नजर यसतिर देखिन्थ्यो।

गाडीको आकार ठूलो भए पनि ड्राइभिङमा अभ्यस्त हुन अलिकति पनि समय लिएन। डिपलका अघिल्ला दुई कार ड्राइभ गरेका जो कसैलाई पनि नेपालमा भित्रिएको तेस्रो कार धेरै अनपेक्षित हुन्न रहेछ।

हेड अप डिस्प्ले भएकाले डिपल कुदाउँदा अलग अनुभूति हुन्छ। त्यसमाथि सादा इन्टेरियर निक्कै लोभलाग्दो। भक्तपुर लाग्ने ६ लेनको सडकमा गुड्दा हेड अपमा ट्राफिक सिग्नल, स्पिड लिमिट र नजिक रहेका अब्जेक्टहरू हेड अपमै डिस्प्ले हुने।

एउटा मोटरसाइकल अनियन्त्रित हिसाबले आएपछि यसमा रहेको अटो ब्रेक एक्टिभेट भइहाल्यो। हामीले नेपाली पारामा सबैभन्दा पहिले सेन्सरमा आधारित अटो ब्रेकिङ सिस्टमलाई निस्तेज गर्‍यौं।

ट्राफिक नियम सबैले पालन गर्ने ठाउँमा यसखाले ब्रेक गजब भए पनि हाम्रो ट्राफिक सिस्टम र कुदाउने शैलीका सामु अर्थहीन हुने गर्छ।

लेन असिस्ट होस् या अटो ब्रेक अथवा अटो ड्राइभ नै किन नहोस्, लामो अनुसन्धान र परीक्षणपछि आएका सुरक्षा फिचर हुन्। चांगन मोटर्सको ६ देशका १० ठाउँमा आर एन्ड डी नेटवर्क छ।

चीनका चार बाहेक इटली, जापान, बेलायत, जर्मनी र संयुक्त राज्य अमेरिकामा रहेका प्राविधिकले सुरक्षाका लागि पर्याप्त योगदान पुर्‍याएको भए पनि हाम्रा सडकमा धेरै थोरैमात्र प्रयोगमा आउँछ। सहरी बाटोमा टर्न लिन हामीले सोचेभन्दा सहज महसुस भयो। ६.१५ मिटर लाग्ने रहेछ यसलाई पूरा टर्न लिन।

दोस्रो दिन हामीले सीतापाइला हुँदै धार्केको बाटो छिचोल्यौं। यस रुटमा धेरै पक्की कालोपत्रे बाटो भए पनि केही कठिन अफरोड पनि थियो।

दुई सय एमएम ग्राउन्ड क्लियरेन्स छ भने जस्तै कच्ची बाटोमा पनि ड्राइभ गर्नेको हिम्मत बढ्ने रहेछ। त्यसमाथि रेयर ह्विल ड्राइभ भएपछि अफरोड यात्रा सहज हुने नै भयो। यसमा १ सय ९० किलोवाट क्षमताको मोटर भएकाले पनि हुनुपर्छ स्पोर्ट मोडमा नै नगई टर्निङ र उकालोको यात्रा भयो।

यसमा ९० किलोवाट आवर क्षमताको ब्याट्री रहेछ। प्यासेन्जर भेहिकलतर्फ नेपाल भित्रिएका कारमा ब्याट्री पावर यो सबैभन्दा धेरै मध्येको एक हो।

अधिकतम २४० किलोवाट क्षमताको डीसी चार्जर प्रयोग गर्न सकिन्छ यसमा। त्यसैले ३० देखि ८० प्रतिशत ब्याट्री चार्ज गर्न १५ मिनेटमात्रै लाग्छ।

अनि एक पटक पूरा चार्ज गर्दा ५ सय ६६ किलोमिटरको दुरी! प्यासेन्जर भेहिकलमा इभीप्रतिको अविश्वास मेट्न यसखाले रेन्जले पक्कै काम गर्छ। अनि रेन्ज एन्जाइटीवालाई न्यारेटिभ्सलाई पनि बिथोल्छ यसले।

गाडी पर्फर्मेन्समा जति गजब देखियो त्यत्तिकै लोभलाग्दो रहेछ यसको इन्टेरियर। एन्टी यूभी पानारोमिक ग्लास भ्यूले यसलाई प्रिमियम बनाएको छ।

रिभर्स मोडमा जानासाथ लुकिङ मिरर पछाडिका पांग्रातिर टिल्ट हुने सुविधा रहेछ। यसले रिभर्समा धेरै तनाव लिन नपर्ने बनायो। हामीले राम्रै रफ्तारमा कुदाइरहेका थियौं।

एउटा कल्भर्टमा पानी जमेको रहेछ। स्पिडमा त्यसको फोहरा छुट्ने भइहाल्यो। सँगै पानीका थोपा सिसामा परेसँगै वाइपर अन भइहाल्यो। त्यो पनि अटोमेटिक रहेछ।

सेफ्टीका लागि अत्यधिक सेन्सरको प्रयोग भएको यो गाडीमा अत्याधुनिक सबै फिचर लोड गरिएको छ। यतिमात्र समस्या हो कि ती सबैक परीक्षण एक/दुई दिनको ड्राइभिङमा सम्भव समेत छैन।

क्याबिन पूरै इन्टेलिजेन्समा आधारित छ। एआईको प्रयोग भरपूर भएको छ।

यसको अर्को विशेषता भनेको पछाडिको भागलाई पिक-अपमा कन्भर्ट गर्न सकिनु पनि रहेछ। फ्रंकका अलावा बलियो बुट स्पेस यसको विशेषता हो। अझ त्यसलाई पिकअप शैलीमा रुपान्तर गर्दा त गाडी लुक्स निक्कै युनिक देखिने रहेछ।

एक करोड मूल्य निर्धारण भएको यो कार नेपाली सडकका लागि अब्बल विकल्प बन्नेमा दुई मत छैन। सुविधा र सुरक्षा दुवैमा कुनै पनि कोणबाट कम्प्रोमाइज नभएकाले एसयुभी सेगमेन्टमा लग्जरी भेहिकल खोज्नेका लागि यो बलियो विकल्प हो। यतिमात्र हो कि यो गाडी हुने व्यक्तिको घरमा पार्किङको स्पेस चाहिँ फराकिलो नै हुन आवश्यक छ।