अटो बजारको नयाँ आयाम : स्थापित ब्रान्डलाई व्यवसाय बढाउन कठिन, नयाँलाई टिक्नै चुनौती

शुक्र गिरी
२०८१ माघ २१ गते ०६:०६ | Feb 3, 2025
अटो बजारको नयाँ आयाम : स्थापित ब्रान्डलाई व्यवसाय बढाउन कठिन, नयाँलाई टिक्नै चुनौती


काठमाडौं। विद्युतीय सवारीको आगमनले संसारभर अटोमोबाइल बजारको आयाम परिवर्तन भएको छ। सवारी उत्पादक कम्पनी र प्रयोगकर्ता पेट्रोल/डिजल इन्जिनबाट नयाँ प्रविधिमा आकर्षित हुने क्रम बढेपछि बजारको स्वरुप नै परिवर्तन हुन पुगेको हो। यसबाट नेपाली अटो बजार पनि अछुतो छैन।

Tata
GBIME
NLIC

सवारीसाधनमा विकसित नयाँ प्रविधिसँगै दिनानुदिन भइरहेको इनोभेसनले नेपालको अटो बजारमा पनि नयाँ लहर ल्याएको हो। स्थापित ब्रान्डलाई अहिले व्यवसाय बढाउन कठिन भइरहँदा नयाँलाई टिक्नै चुनौती छ।

चिनियाँ इभी निर्माताहरूको ग्लोबल बजारमा उपस्थिति मजबुतरूपमा बढिरहेको छ। जुन नेपालमा पनि प्रष्ट देखिन्छ। नयाँ-नयाँ कम्पनी खुलेका छन्, तिनका उत्पादन बजारमा आइरहेका छन्। केही ब्राण्ड स्थापित भइसकेका छन्, केही टिक्न संघर्षमा देखिन्छन्।

विश्वप्रसिद्ध सवारी निर्मातामध्ये अधिकांश इभीतर्फ आकर्षित छन्। अब विद्युतीय मोडल नल्याए बजारमा टिक्न सकिँदैन भन्ने बुझेका कम्पनीहरू प्लान्टमा परिवर्तन गरिरहेका छन्। चिनियाँ कम्पनीले प्रभाव बढाउँदा अमेरिकी, बेलायती, जर्मन, कोरियन, जापानी र भारतीय सवारी निर्माताहरू पनि इभी मोडल विकासको हतारमा देखिएका छन्।

पछिल्लो समय नेपाली बजारमा आएका नयाँ ब्रान्डहरू सबै टिक्छन् भन्ने निश्चित भने छैन। पछिल्लो समय देखिएका केही घटनाहरूले पनि आगामी दिनमा यी नयाँ ब्रान्ड फिल्टर हुने देखिन्छन्। यसमा व्यवसायीहरू पनि विश्वस्त छन्। धेरै ब्रान्ड वा जस्तो पायो त्यस्तो ब्रान्ड आउनु राम्रो नभएको व्यवसायीहरू आफैं स्वीकार गर्छन्।

विद्युतीय सवारीका हकमा नेपाल सरकारले समयानुकूल मापदण्ड ल्याएको छैन। व्यवसायीहरू सरकारले उपयुक्त मापदण्ड बनाउँदा बजारमा जथाभावी रोकिने बताउँछन्। नेपालको अटो बजारमा अहिले स्थापित ब्रान्डलाई आफ्नै इभी मोडल नहुँदा बजारमा विस्तारमा समस्या छ भने इभीका रुपमा उदाएका नयाँ ब्रान्डहरूलाई पनि टिक्न चुनौतीपूर्ण छ।

कसरी टिक्लान् नयाँ ब्रान्ड?

पछिल्लो पटकको तथ्यांक हेर्ने हो भने नेपाली बजारमा बीवाइडी, एमजी, डीपल, ओमोडा र नामी लगायतको बिक्री राम्रो छ। तर पछिल्लो डेढ वर्षमा नेपाली बजारमा भित्रिएका गाडीका ब्रान्ड यी मात्रै होइनन्, अरु थुप्रै छन्।

दर्जनभन्दा बढी ब्रान्डको आयातमा परिमाण अस्वाभाविकरूपमा घटबढ छ। यसले उनीहरूलाई बजारमा स्थापित हुन चुनौतीपूर्ण रहेको देखाउँछ। कुनैको प्रडक्ट लाइनअप छैन भने कुनैको ब्रान्ड नै टाट पल्टिसकेको छ।

नेपाली बजारमा ब्रान्डलाई टिकाएर राखिराख्न गाह्रो छ। त्यसैले उत्पादक कम्पनी र व्यापारिक घराना सबैको एउटै चुनौती हुन्छ आफ्नो ब्रान्ड लोकप्रिय र उपभोक्ताको विश्वास जित्नेखालको कसरी बनाउने?

उपभोक्ता सचेत बनेको अहिलेको समयमा बजारमा आफ्नो ब्रान्डलाई स्थापित नगराएसम्म कुनै पनि उद्योगी व्यवसायीले लक्ष्यअनुसारको व्यापार गर्न सक्दैनन्। व्यापार नबढेसम्म ब्रान्डले निरन्तरता पाउने कम हुन्छ।

चीनबाट उत्पादन भएर नेपाली बजारमा आइपुगेका धेरैजसो विद्युतीय गाडीका निर्माता स्टार्टअप कम्पनी छन्। यस्ता केही कम्पनीले अपेक्षित कारोबार गर्न नसक्दा बन्दको संघारमा पुगेका छन्। त्यस्ता कम्पनीका गाडीका कारण नेपाली अटो बजारमा अविश्वास बढाएको छ।

नयाँ ब्रान्डहरूसँग सामान्यतया सीमित बजेट, कमजोर डिलर नेटवर्क र अन्य स्रोतहरूमा पहुँच कम हुन्छन्। यसले उनीहरूलाई मार्केटिङ, सर्भिस र वितरण जस्ता गतिविधिहरूमा लगानी गर्न गाह्रो बनाउँछ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीका अनुसार बिजनेसको साइकलमा इनिसियल फेजमा प्रोडक्ट नयाँ आउदा ग्राहकहरूले यो के रहेछ भनेर अनुभन गर्ने परिपाटि छ। तर दीर्घकालिन रुपमा प्रयोग गर्न भने सबै कुरा ग्राहकहरूले हेरिरहेका हुन्छन्।

‘नयाँ ब्रान्ड वा प्रोडक्ट आउदा हनिमुन पिरियड हुन्छ। त्यो अहिले भइरहेको छ,’ उनले भने, ‘अब केही फिल्टर हुने देखिन्छ। त्यसमा पनि स्थापित ब्रान्डको नै एउटा दरिलो हिस्सा बनाइरहेको स्थानमा सबै नयाँ आएर रिप्लेस हुन्छ भन्ने हैन।’

यसैगरी, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा भन्छन्, ‘जस्तो पायो त्यस्तै गाडी ब्रान्डहरू ल्याउँदा एउटा बन्द हुनाले अर्कोलाई पनि असर गर्छ। जस्तै कुनै एउटा चाइनिज ब्रान्ड बन्द भयो भने ग्राहकहरूले हेर्दा सबै ब्रान्ड त्यस्तै हो की भन्ने धारणा बनाउछन्।’

यो केस धेरै वर्ष अगाडि दुई पाङ्ग्रे इभीमा पनि भइसकेका छन्। जुन अहिलेसम्म पनि नेपाली बजारमा स्ट्रगल नै गरिरहेका छन्। उनका अनुसार यस्ता कुराहरुले बजारमा टिक्न नयाँ ब्रान्डलाई गाह्रो छ।

अर्को भनेको आफ्नो ब्रान्डलाई टिक्न र ग्राहकहरूलाई विश्वास दिलाउन पनि व्यवसायीहरूले इकोसिस्टममा लगानी गर्न सकिरहेका छैनन्। जसले उनीहरूलाई बजारमा सेट-ब्याक गराउने गोल्छा बताउँछन्।

‘बजारमा नयाँ ब्रान्ड फिल्टर हुने देखिएको छ। त्यसैले जस्तो पायो त्यस्तै ब्रान्ड ल्याउँदा बजारमा टिक्न मुस्किल हुन्छ नै,’ उनले भने।

स्थापित ब्रान्ड संघर्षमा

अहिलेको व्यवसायमा सबैभन्दा ठूलो अर्थ कुन कुराले राख्ला? सायद सबैको एउटै उत्तर हुन्छ, ब्रान्ड। व्यापार, व्यवसायमा ब्रान्डको आफ्नै महत्त्व छ। अहिलेको संसारमा लोकप्रिय ब्रान्ड नबनाएसम्म प्रोडक्ट बिक्री गर्न सकिँदैन। पहिले ब्रान्ड स्थापित गर्न गाह्रो छ।

तर पहिले नै स्थापित भएका केही सवारी ब्रान्डलाई इभीका कारण अस्तित्वमै संकट छ। बजारमा टिक्न संघर्ष गरिरहनु परेको छ।

स्थापितसँग बलियो ब्रान्ड इमेज, पुराना ग्राहकहरू र व्यापक डिलर नेटवर्क हुन्छ। तर अहिलेको बजारले इभीलाई प्रथामिकता दिएको छ। जुन कुरामा पुराना ब्रान्डहरूसँग इभीमा प्रडक्ट नै नहुनु समस्या छ। जसले गर्दा उनीहरूको बजार हिस्सा खुम्चिँदै गएको छ।

उदाहरणको लागि जापनमा रहेका टप अटो उत्पादक कम्पनी होन्डा र निसानले मर्जरमा जाने निश्चित नै गरिसकेका छन्। किनभने मर्जरबाट उनीहरूले इभी उत्पादनमा लगानी बढाउने योजना बनाएका छन्। जसले इभी उत्पादनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ। त्यसैले अहिले नेपाली अटो बजारमा पनि पुराना ब्रान्डलाई सर्भाइभ गर्नै कठिन अवस्था छ।

कुनै समय वार्षिक बिक्रीमा नम्बर १ देखि ४ स्थानसम्ममा रहने सुजुकी, महिन्द्रा, किया र हुन्डाई जस्ता ब्रान्ड अहिले पछि परेका छन्। केही नयाँ ब्रान्ड उनीहरूभन्दा अघि बढेका छन्।

टाटाको भने इभी प्रोडक्ट भएकाले केही हदसम्म आफ्नो बजार हिस्सा टिकाउन सफल छ। तर अन्य स्थापित ब्रान्डलाई भने नयाँ ब्रान्डले खोसिएको बजारमा हिस्सा पाउन स्ट्रगल फेजमा नै छन्।

चौधरीका भन्छन्, ‘अहिलेसम्म स्थापित ब्रान्डले बजार विस्तारमा गरेको खर्च नै धेरै भइसकेको हुन्छ। ब्रान्डहरूको बारेमा फिडब्याकहरू आउने, राम्रो नराम्रो सबै कुराहरुसँग जुझ्दै बजार विस्तारमा ठूलो समय व्यतित गरिसकेको हुन्छ। त्यसैले त्यति सजिलै आफ्नो बजार हिस्सा गुमाउन स्थापित ब्रान्डले सक्दैन र दिदैनन् पनि। त्यसैले केही समय संघर्षमा होला तर बजारमा हिस्सा बढाउने काम भइरहेका छन्।’

गोल्छाका अनुसार अहिले बजारमा स्थापित ब्रान्डलाई टिक्न मुस्किल भइरहेकाले उनीहरूले पनि सर्भाइभ गर्न भनेपनि इभी ब्रान्ड ल्याएर बिक्री गरिरहेका छन्।

‘४० वर्षदेखि बिक्री गर्दै आएको आफ्नो ब्रान्डसँग इभीको प्रोडक्ट छैन। अहिले इभीभन्दा अन्य बिक्री हुने अवस्था थोरै मात्रा हुन्छ,’ उनले भने, ‘जसले बजारमा स्थापित हुन समस्या भइरहेको छ।’