‘डीएसपी हुँ’ भन्दै ५० हजार रुपैयाँ ठगेको आरोपमा एक जना धनुषा प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०८१ माघ १९ गते १८:१४ | Feb 1, 2025
‘डीएसपी हुँ’ भन्दै ५० हजार रुपैयाँ ठगेको आरोपमा एक जना धनुषा प्रहरीको नियन्त्रणमा


धनुषा। नेपाल प्रहरीको ‘प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

सिरहाको लहान नगरपालिका-२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए।

उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका-४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डीएसपी भएको भन्दै ५० हजार रुपैयाँ ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो।’

पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई अनुसन्धान थालिएको उनले जानकारी दिए। रासस